काठमाडौं । इशान किसनले इण्डियन प्रिमियर लिग (आइपिएल) को सुरुवाती केही खेलमा सनराइजर्स हैदराबादको लागि कप्तानी गर्ने भएका छन् ।
नियमित कप्तान प्याट कमिन्स उपलब्ध नहुने भए पछि इशानले हैदराबादका लागि सुरुवाती खेलमा कप्तानी गर्ने हैदराबादले बुधबार जनाएको छ । फिटनेसका कारण कमिन्सले आइपिएलमा हैदराबादका लागि सुरुवाती केही खेलहरू गुमाउने सम्भावना छ ।
कमिन्स कति खेलमा उपलब्ध नहुने तथा इशानले कति खेलको कप्तानी गर्ने भने हैदराबादले खुलाएको छैन । कमिन्सले चोटका कारण अष्ट्रेलियाको लागि २०२६ एशेज सिरिजका केही खेलपछि प्रतिस्पर्धात्मक क्रिकेट खेलेका छैनन् ।
हालै सम्पन्न विश्वकपमा भारतको लागि महत्वपूर्ण भूमिका खेलेपछि इशान कप्तानको प्रमुख दावेदार रहेका थिए । उनकै कप्तानीमा झारखंडले यसै वर्ष पहिलो पटक सैयद मुश्ताक अली ट्रफीको उपाधि जित्न सफल भएको थियो ।
गत वर्ष हैदराबादले १४ खेलबाट केवल ६ जितका साथ छैटौं स्थानमा सिजन समाप्त गरेको थियो । दक्षिण अफ्रिकाका हेनरिक क्लासेनले आफ्नो योग्यता प्रमाणित गर्दै टोलीको सर्वाधिक रन बनाउने खेलाडीको रूपमा समाप्त भए । अर्कोतर्फ, कमिन्सले हर्षल पटेलसँगै टोलीको लागि सबैभन्दा धेरै विकेट लिएका थिए ।
