पोखरा । बागमती प्रदेशले प्रथम यु-१५ विद्यालय खेलकुदको ब्याडमिन्टनमा बिहीबार सर्वाधिक २ स्वर्ण र ३ कांस्य पदक जित्दै टिम च्याम्पियन बनेको छ ।
दोश्रो स्थानको लुम्बिनीले २ स्वर्ण तथा तेश्रो भएको गण्डकीले १ स्वर्ण, ३ रजत र २ कांस्य पदक जिते । कोशी र कर्णाली पदकविहीन रहे ।
ब्याडमिन्टनमा सात प्रदेशबाट ५६ खेलाडीले विभिन्न ५ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । पाँचै स्पर्धाको फाइनल बिहीबार भएको थियो ।
पोखरा रंगशालास्थित ब्याडमिन्टन कभर्डहलमा भएको ब्वाइज फाइनलमा लुम्बिनीका सुविन श्रेष्ठले गण्डकीका सफल भुजेललाई २१-१७, २१-११ को सोझो सेटमा पराजित गरे ।
सो स्पर्धाको गर्ल्सको उपाधि भिडन्तमा बागमतीकी रिहाना शेरचनले कोशीकी निभा राईलाई २१-१०,२१-१९ ले हराइन् ।
ब्वाइज डबल्समा लुम्बिनीका सुविनले सुदेश राजकोटीसंग मिलेर अर्को स्वर्ण पदक जिते । उक्त जोडीले फाइनलमा गण्डकीका सफल र गेजराजर कार्कीको जोडीमाथि १९-२१, २१-१६,२१-१३ को कठिन जित दर्ता गरे ।
सोही स्पर्धाको गर्ल्समा रिहानले पनि टीशारानी शाक्यसंग मिलेर दोहोरो स्वर्ण जित्न सफल भइन् । उक्त जोडीले फाइनलमा गण्डकीका दिलाशा राणा र समृद्धि श्रेष्ठको जोडीलाई २१-१, २१-१६ ले हराए ।
मिक्स डबल्समा गण्डकीका सफल भुजेल र दिलाशा राणाको जोडी च्याम्पियन बने । सफल र दिलाशाको जोडीले फाइनलमा कोशीका सदिप राई र निभा राईको जोडीलाई २१-१५,२१-१२ को सोझो पराजित गरे ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, प्रदेश खेलकुद विकास परिषद्, बागमतीका सदस्यसचिव सूर्यलाल भण्डारी, राखेपका सदस्य अञ्जन धमलालगायतले पुरस्कृत गरे ।