काठमाडौं । त्रिभुवन आर्मी क्लबका पविन लिङ्गथेप र एपिएफका क्षितिज खनाल १३औं पुष्पलाल स्मृति राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन प्रतियोगिताको शीर्ष
आठ बाहेकको पुरुष एकलमा सेमिफाइनल प्रवेश गरेका छन् ।
नेकपा एमाको भातृ संगठन नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालको आयोजनामा भएको प्रतियोगिताको बिहीबार सम्पन्न क्वार्टरफाइनलमा पविनले पाँचथरका दिवस शंकरलाई २१-१९, २१-१७ ले तथा क्षितिजले एपिएफकै अरुण अधिकारीलाई २१-१०, २१-१० ले पराजित गरे ।
यस्तै एपिएफका रोशन साउद र नखिपोटका विवेक चौधरीले पनि सेमिफाइनलमा स्थान बनाए । रोशनले एपिएफकै सुजन थापालाई २१-१४, २१-१४ र विवेकले एपिएफका भोज बहादुर गुरुङलाई ७-२१, २१-१९, २२-२० ले पराजित गरेका हुन् ।
चन्द्रागिरीस्थित महांकाल ब्याडमिन्टन क्लबको कभर्डहलमा भएको प्रतियोगिताको शीर्ष आठ बाहेकको महिला एकलतर्फ नेपाल पुलिसकी सुष्मा श्रेष्ठ, कास्कीकी दिलाशा राई, पोखरा स्पोर्टस ब्याडमिन्टन क्लबकी आयुष्मा नेपाल र बेलटार ब्याडमिन्टन एकेडेमीकी राजी राईले सेमिफाइनलान स्थान पक्का गरे ।
सुष्माले आर्मीकी विष्णा विष्टलाई २१-१७, १८-२१, २१-१७, दिलाशाले कैलालीकी एलिना सुनारलाई २१-१९, २४-२२, आयुष्माले ललितपुरकी श्रेया बज्राचार्यलाई १४-२१, २१-१०, २१-१८ र राजीले आर्मीकी शेष्ना श्रीपालीलाई २१-१६, १२-२१, २१-१५ ले पराजित गरे ।
यु-१३ गर्ल्सतर्फ ध्यपुरकी स्वर्लिन श्रेष्ठ, दीपक ब्याडमिन्टन एकेडेमीकी उपासना बोहरा, बेलटार एकेडेमीकी दिया राइ र दीपक ब्याडमिन्टन एकेडेमीकी अश्मिता खत्री सेमिफाइनल पुगेका छन् ।
यस्तै यु-१७ ब्वाइजतर्फ एपिएफका अरुण अधिकारी, आर्मीका सुप्रिम पन्त र रिभाईभका किरण न्यौपाने सेमिफाइनल पुगे ।
मास्टर्स ४५ प्लसमा रिभाईभ लिजर पार्कका सुक्र पाख्रिन र भिम बहादुर थापा, ललितपुरका मधु गुरुङ र प्रकास राई, पाँचथरका दीपक आङ्गदम्बे र कुस्माका प्रेम गुरुङ तथा पर्फेक्ट फिटनेश सेन्टरका संजय कपाली र अनिल थामसुहाङ्गको जोडीले पनि सेमिफायनलमा स्थान बनाए ।
खेलाडीको बिमा
राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालले पहिलो पटक खेलाडीहरुका लागि बिमाको ब्यवस्था गरेको छ ।
प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका खेलाडीहरुका लागि ५ लाख बराबरको दुर्घटना बिमा गरेको संघका सचिव पुर्णभक्त चित्रकारले जानकारी गराएका छन् ।
चित्रकारका अनुसार प्रतियोगिताका दौरान हुने दुर्घटनालाई मध्यनजार राख्दै खेलाडीहरुको दुर्घटना भएको खण्डमा उपचारका लागि खेलाडीहरुले उक्त बिमा उपयोगमा ल्याउन सक्ने छन् । प्रतियोगितामा कुल २७४ खेलाडीको सहभागिता रहेको छ ।