काठमाडौं । कान्तिपुर पब्लिकेसन्स लिमिटेडको आयोजनामा कान्तिपुर हाफ म्याराथनको १२औं संस्करण यही जेठ ५ गते शनिबार हुने भएको छ ।
ग्लोबल आइएमइको प्रस्तुती रहेको प्रतियोगितामा चार विधा समावेश छन् । जसमा हाफ म्याराथन २१.१ किमीको हुनेछ। यसैगरी अन्य करपोरेट रन ५ किमी, कलेज रन ७ किमी, हृिवलचेयर रेस हुनेछ ।
हाफ म्याराथनको दुवैतर्फका विजेताले जनही १ लाख प्राप्त गर्नेछन् । यसैगरी दोस्रोदेखि छैटौं स्थान हासिल गर्नेले क्रमशः ५०, ३०, २०, १० र ५ हजार पाउने छन् ।
ह्विलचेयर रेसतर्फको विजेताले ३० हजार, दोस्रो र तेस्रो हुनेले क्रमशः २० र १० हजार पाउनेछन् । कर्पोरेट रन र कलेज रनको महिला र पुरुषतर्फ शीर्ष तीनमा रहनेले विभिन्न पुरस्कार र गिफ्ट हृयाम्पर पाउनेछन् ।
कान्तिपुरको कार्यालय रहेको थापाथलीस्थित सेन्ट्रल विजनेस पार्कबाट सुरु हुने हाफ म्याराथन थापाथली, माइतीघर मण्डला, वानेश्वर, तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली गठ्ठाघर, थिमी, सल्लाघारी चोकबाट सोही रुट हुँदै पुनः सेन्ट्रल विजनेस पार्कमै आएर सकिनेछ ।
कर्पोरेट दौड सेन्ट्रल विजेनस पार्कबाट सुरु भई थापाथली, माइतीघर मण्डला, वानेश्वर, सिभिल हस्पिटल अगाडिबाट फर्किएर पुनः बानेश्वर मन्डला, माइतीघर, थापाथली हुँदै सेन्ट्रल विजनेस पार्कमा गएर टुंगिने छ । सेन्ट्रल विजेनस पार्कबाटै सुरु हुने ह्विलचेयर रेस, थापाथली, माइतीघर मण्डला फन्को लगाएर पुनः सेन्ट्रल विजनेस पार्कमै आएर समाप्त हुनेछ ।
प्रतियोगितामा सहभागिताका लागि बिहीबारसम्म नाम दर्ता गराउन सकिने आयोजकले बताएको छ । प्रतियोगितालाई नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोग रहनेछ ।