काठमाडौं । नेपाल बुद्धिचाल महासंघ र भक्तपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा मंगलबारदेखि नेसनल ‘बी’ चेस च्याम्पियनसिप सुरु भएको छ।
प्रतियोगितामा ४० पुरुष र २० खेलाडीले सहभागिता जनाएका छन् । प्रतियोगिताबाट समान ९ पुरुष तथा महिला खेलाडी राष्ट्रिय च्याम्पियनसिपका लागि छनोट हुनेछन् । २५औं पुरुष र १०औं महिला राष्ट्रिय च्याम्पियनसिप माघ दोस्रो साता हुनेछ ।
महिलातर्फ पहिलो चरणमा झापाकी पुनम प्रसाईं, किर्तिपुरकी विनिता कपाली, पर्साकी सुशीला गुरुङ, चितवनकी लक्ष्मी कँडेल, इशा गिरी, नयुमा मगर र निहाना श्रेष्ठले समान अंक जोडेका छन्।
पुरुषतर्फ मकवानपुरका पुरुषोत्तम सिलवाल, काठमाडौंका एफएम रिजेन्द्र राजभण्डारी, दोलखाका आशिष फुयाल, बनेपाका राहुल प्रधान, सुसन आचार्य र धिरेन राई, ललितपुरका सानुराज बज्राचार्य, रौतहटका एफएम रुपेश जैसबाल, झापाका प्रकाशचन्द्र नेपाल, हेटौंडाका सिएम मिलन लामाले एक अंक जोडेका छन् ।
यसैगरी भक्तपुरका निकेन कुसाथा, ललितपुरका सुरोज महर्जन, काठमाडौंका सिएम नवीन तण्डुकार, प्रेमकृष्ण महर्जन, भक्तपुरका राजेश कक्षपती, ललितपुरका सानुभाई महर्जन, विनय थापा र प्रसित खनालले पनि जित हात पारेका छन् ।
पाँच दिनसम्म ९ चरणमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन सूर्य विनायक नगरपालिकाका मेयर बासुदेव थापाले गरेका थिए ।