काठमाडौं । चीनमा सम्पन्न दुई अन्तर्राष्ट्रिय ट्रेल रेसमा स्वर्ण पदक जितेकी धाविका सुनमाया बुढा बिहीबार स्वदेश फर्किएकी छन् ।
नेपाल एडभेन्चर रनिङ महासंघका अध्यक्ष एकेन्द्र कुँवर, वरिष्ठ उपाध्यक्ष राजन खत्रीलगायतका पदाधिकारीले सुनमायालाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
सुनमायाले अक्टोबर १९ मा भएको अल्ट्रा ट्रेल निन्घाईंमा स्वर्ण पदक जितेकी थिइन् । ६० किलोमिटर दूरी सुनमायाले ५ घण्टा ४० मिनेट ०३ सेकेन्डमा पूरा गरेकी थिइन् ।
यसैगरी सुनमायाले नोभेम्बर २ मा भएको साइगु १०० केमा पनि स्वर्ण पदक जितिन् । सुनमायाले निर्धारित १०५ किलोमिटर दूरी ९ घण्टा ३२ मिनेट ४७ सेकेन्डमा तय गरेकी थिइन् । दुवै रेसमा सुनमायाले कोर्स रेकर्ड पनि कायम गरेको महासंघकी सदस्य एवं अन्तर्राष्ट्रिय समन्वयकर्ता प्रीति खत्रीले जानकारी दिइन् ।
यी दुईसहित सुननमायाले यो वर्ष ९ अन्तर्राष्ट्रिय रेसमा सहभागिता जनाएकी छन् । उनले थप तीन स्वर्ण र एक कांस्य पदक जितेकी छन् ।