काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला क्लब च्याम्पियनसिपमा नासरिन स्पोर्टस एकेडेमी र ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले १-१ को बराबरी खेलेका छन् ।
बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा भुटानको ट्रान्सपोर्टले अग्रतालाई जोगाउन सकेन । अन्तिम समयमा सम्हालिन नसक्दा ट्रान्सपोर्टले बंगलादेशको नासरिनसँग अंक बाँड्न बाध्य भएको हो ।
खेलको ३८औं मिनेटमा कप्तान पेमा छोडेन छिरिङले ट्रान्सपोर्टलाई अग्रता दिलाएकी थिइन् । निर्धारित समय सकिन तीन मिनेट बाँकी छँदा स्ट्राइकर सौरभी अकन्दा प्रीतिले बराबरी गोल फर्काइन् ।
दुबै टोली यसअघि नै फाइनल समीकरणबाट बाहिरिसकेका थिए । यो नतिजासँगै ट्रान्सपोर्टले तेस्रो स्थानमा रहेर प्रतियोगितामा आफ्नो यात्रालाई अन्त्य गर्यो । चार खेलमा ट्रान्सपोर्टले तीन अंक जोड्यो । ट्रान्सपोर्टको यो तेस्रो बराबरी हो ।
नासरिन अंकतालिकाको पुछारमा रह्यो । चार खेलमा नासरिनले मात्र दुई अंक जोड्यो ।
राउन्ड रोविन प्रतिस्पर्धापछि समूहको शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने सेटअप थियो । नेपाल एपिएफ क्लब र भारतको इस्ट बङ्गाल क्लब यसमा सफल भइसकेका छन् ।
दिनको दोस्रो खेलमा यिनै दुई टोली लिगको अन्तिम खेलमा प्रतिस्पर्धा गर्दैछन् ।
