काठमाडौं । नेपाल एपिएफ क्लब र इस्ट बङ्गाल फुटबल क्लबले शनिबार साफ महिला क्लब च्याम्पियनसिपको फाइनल खेल्ने पक्का भइसकेको छ । राउन्ड रोविन लिगको एक खेलअगावै यी दुई टोलीले फाइनल समीकरणमा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।
बुधबार लिगको अन्तिम खेलमा दुबैले एकअर्कासँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ ६ बजे फ्लडलाइटमा हुनेछ ।
दुबै टोली प्रतियोगितामा अपराजित छन् । पछिल्ला तीन खेलमा एपिएफले सात अंक जोड्दा इस्ट बङ्गालले शतप्रतिशत जित हासिल गरेको छ ।

बङ्गालले प्रतियोगितामा सर्वाधिक १३ गोल गरेको छ । सात गोल बङ्गालले बंगलादेशको नासरिन स्पोर्टस एकेडेमीविरद्ध पछिल्लो खेलमा गरेको हो । उता एपिएफले पछिल्ला दुई खेलमा गोलका लागि निकै संघर्ष गर्नुपरेको छ । पहिलो खेलमा नासरिनको चुनौती ४-० ले पन्छाएको एपिएफले त्यसपछि १८० मिनेटमा मात्र एक गोल गर्न सक्यो ।
यी दुईबीच एउटा कुरामा भने समानता छ । त्यो हो, दुबैले प्रतियोगितामा दुबैले एक गोल पनि खाएको छैन । एपिएफकी गोलकिपर अञ्जना रानामगरलाई विपक्षी आक्रमणले विरलै दुःख दिएको छ । उनले केही ‘वान भर्सेस वान’ आक्रमण भने बचाएकी छन् । कराँची सिटीविरुद्ध अञ्जनाले एउटा सुन्दर बचाउ गरिन् । बुधबिार अञ्जनाको वास्तविक परीक्षण हुनेछ ।
अञ्जनासँगै एपिएफको रक्षापङ्क्तिले विपक्षी आक्रमणलाई कसरी रोक्नेछ, त्यो हेर्नलायकको हुनेछ ।

एपिएफ निर्विकल्प जब्बर रक्षक गीता रानाको पुनरागमनले उत्साहित छ । गीता काँधको शल्यक्रियापछि आइतबार करिब साढे दुई महिनापछि मैदानमा फर्किइन् । गीताले लेफ्ट ब्याक मनमाया दमाईलाई खेलको ३८औं मिनेटमा प्रतिस्थापन गरिन् ।
मनमायाले तीनवटै खेलमा पहिलो रोजाईमा मौका पाएकी छन् । बङ्गालविरुद्ध मुख्य प्रशिक्षक जीवेशकुमार पाण्डेलाई रक्षापङ्क्तिमा बलियो विकल्प छ ।
नासरिनको पोस्टमा पाँच गोल गरेकी स्ट्राइकर अजिला इक्वापुट बङ्गालकी हतियार हुन् । एपिएफको रक्षापङ्क्ति उनको विशेषताप्रति सजग रहन आवश्यक छ ।

एपिएफकी स्ट्राइकर रश्मिकुमारी घिसिङलाई फाइनलअघि गोल स्कोरिङ लयलाई कायम राख्ने चुनौती हुनेछ । यसका लागि रश्मीले भारतीय राष्ट्रिय टोलीकी भेट्रान सेन्टरब्याक आशलता देवीको अनुभवलाई चिर्नुपर्नेछ । रश्मीका लागि यो कुरा नौलो भने हुनेछैन । स्मरण रहोस् ! सन् २०२२ को साफ च्याम्पियनसपमा रश्मीले भारतविरुद्ध सेमिफाइनलमा निर्णायक गोल गरेकी थिइन् ।
दशरथ रंगशालामै भएको उक्त खेलमा आशलताले भारतीय टोलीको नेतृत्व गरेकी थिइन् । उनकै अगाडिबाट रश्मीले सुन्दर प्रहार गर्दै बललाई पहिलो बारको जाली चुमाएकी थिइन् ।
