काठमाडौें । केभिआर समीट च्यालेन्ज सिजन तीनको तेस्रो चरणमा पुरुषतर्फ युगल राई र महिलातर्फ सान्या मार्टिन च्याम्पियन भएका छन् ।
ट्रेलमान्डु नेपालको आयोजनामा शनिबार भएको २५ किलोमिटरको रेसमा युगलले दुई घन्टा ५७ मिनेट ४७ सकेन्ड समय लगाए । नेपालकै हरेन्द्र के चौधरी र दीपक तामाङ दोस्रो र तेस्रो स्थानमा रहे । हरेन्द्रले तीन घन्टा सात मिनेट ४३ सकेन्ड तथा दिपकले तीन घन्टा २१ मिनेट २३ सकेन्डमा दौड पुरा गरे ।
महिलातर्फ सान्याले तीन घन्टा ३९ मिनेट र २४ सकेन्ड समय लगाइन् । उनले स्टेन हेजलवर्ग र सोफी स्टाइनरलाई पछाडि पारे ।
१० किलोमिटर दौडमा पुरुषतर्फ सलमान शेख (१ः१८.४८ सकेन्ड) पहिलो, पेम्बा छिरिङ लामा (१ः२२.५२ सकेन्ड) दोस्रो र पुस्कर धामी (१ः३१.२२ सकेन्ड) तेस्रो भए । महिलातर्फ सितु लामा (१ः४०.३५ सकेन्ड), क्लारा बर्गगारेन (१ः४६.४९ सकेन्ड) दोस्रो र कामाल्या लि (२ः०१.२५ सकेन्ड) शीर्ष तीन स्थानमा रहेका थिए ।

२५ किमीको दौड गोदावरी, फुल्चोकी, मनकामना दोबाटो र बदीखेल भएर गोदावरीमा सुर्यचौरमा तथा १० किलोमिटर दौड गोदावरी, मनकामना दोबाटो र बदीखेल भएर गोदावरीमा सुर्यचौरमा सम्पन्न भएको थियो ।
प्रतियोगितामा नेपालसहित बेलायत, अमेरिका, फ्रान्स, जापान, भारत, क्यानाडाका करीब १०० जना धावकधाविकाले सहभागिता जनाएका थिए ।
विजेता खेलाडीलाई नेपाल ओलम्पिक कमिटीका प्रतिनिधि निरज श्रेष्ठले पुरस्कार वितरण गरे ।
