काठमाडौं । नेपाल भलिबल संघ (एनभिए) ले आयोजना गर्ने नवौं एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप–२०८२ मा २० टिम सहभागी हुने भएका छन् । पुस ११ देखि १९ गतेसम्म हुने प्रतियोगितामा विभागीय टिमबाहेकले तीन विदेशी खेलाडी खेलाउन पाउनेछन् ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुने च्याम्पियनसिपमा पुरुषतर्फ १२ र महिलातर्फ ८ टिम सहभागी हुने पक्का भएको छ । च्याम्पियनसिपबाट पुरुषतर्फ शीर्ष ८ र महिलातर्फ शीर्ष ६ टोली प्रधानमन्त्री कप एनभिए लिगको लागि छनोट हुनेछन् ।
लिगमा गण्डकी प्रदेशले भने सहभागिता जनाउने छैन । यसअघि घरेलु प्रतियोगितामा कडा चुनौती दिँदै आएको गण्डकीले राष्ट्रिय टिम छनोटमा असहमती जनाउँदै लिग नखेल्ने निर्णय गरेको हो । पछिल्लो पटक नेपालले सेन्ट्रल एसियन भलिबल संघ (काभा) नेसन्स कपमा खेल्यो । घरेलु भलिबलमा उत्कृष्ट प्रदर्शन गरेका केही खेलाडी नसमेटिएपछि गण्डकीले असहमती जनाएको थियो ।
गण्डकी सहभागी नभएपछि पुरुषतर्फ तीन विभागीय क्लबहरु ( त्रिभुवन आर्मी, नेपाल पुलिस र सशस्त्र प्रहरी बलको एपीएफ ) तथा रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र (कर्णाली प्रदेश), जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, मणिमुकुण्ड भलिबल क्लब (लुम्बिनी), हेल्प नेपाल स्पोट्र्स क्लब, कोशी प्रदेश भलिबल संघ, बुढानीलकण्ठ भलिबल क्लब, ढोरपाटन क्लब (काठमाडौं), खिल्जी युवा क्लब (लुम्बिनी) र कीर्तिपुर भलिबल प्रशिक्षण केन्द्र (काठमाडौं) सहभागी हुनेछन् ।
महिलातर्फ पनि तीन विभागीय टोलीहरु (पुलिस, आर्मी र एपिएफ)सँगै न्यु डायमण्ड युथ स्पोट्र्स क्लब, एभरेस्ट भलिबल क्लब, चुली युवा क्लब (कर्णाली), सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् र मधेश प्रदेश खेलकुद परिषद् छन् ।
