बग्लुङ । पहिलो मेयर कप प्रोफेसनल आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिताको महिला ५०-५७ केजी तौल समूहमा सेमिफाइनल समिकरण पूरा भएको छ ।
बाग्लुङ जिल्ला आइटिएफ तेक्वान्दो संघको आयोजनामा शुक्रबारदेखि सुरु प्रतियोगितामा कोशीका कुसुम राजवंशी र सविना तामाङ तथा विभागीय टोली त्रिभुवन आर्मीका निकिता धामी र सविना सुनारले सेमिफाइनलमा स्थान पक्का गरे ।
ढोरपाटन नगरपालिका-१ बुर्तिबाङको बसपार्कमा पहिलो खेलमा कुसुमले विभागीय टोली नेपाल पुलिस क्लबकी सुस्मिता थापालाई पराजित गरिन् । निकिताले गण्डकीकी रिया श्रेष्ठ तथा कोशीकी सविनाले लुम्बिनीकी बसन्तीकुमारी विकलाई निरास बनाए ।
चौथो तथा अन्तिम खेलमा सविनाले बागमती प्रदेशकी रजनी रेग्मीलाई पराजित गरिन् ।
प्रोफेसनल फाइटमा महिलातर्फ ५०-५७ केजी तौलसमूह र पुरुषमा ५५-६२ केजी तौल समूहका खेलाडीले चुनौती दिन पाउनेछन् । यस प्रतियोगितामा तीन विभागीय, सात प्रदेश र आयोजक गरी ११ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
महिला र पुरुष दुवैतर्फका शीर्ष तीनले ५० हजार, ३० हजार र २० हजार रुपैयाँ पाउनेछन् ।
प्रतियोगिताको उद्घाटन संघीय सांसद तथा पूर्वशिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले गरेका थिए ।