काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिपको उद्घाटन खेलमा सर्वाधिक सफल टोली भारतले पाकिस्तानविरुद्ध ५-२ गोल को जित हासिल गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न समूह ‘बी’को पहिलो खेलमा भारतलाई जित दिलाउन ग्रेस डाइङमेइले दुई गोल गर्दा एनगाङगोम बाला देवी, मनिसा र ज्योती चौहानले समान एक गोल गरे । पाकिस्तानका लागि सुहा हिरानी र केइला मारी सिद्धिकीको गोल सान्त्वना बन्यो ।
दुई अनुभवी खेलाडीको विशेष दिनमा भारतले पाकिस्तानविरुद्ध पहिलो हाफमा ४-१ को अग्रता लिएको थियो । दोस्रो हाफमा पाकिस्तानले सुरुआती गोल गर्दा खेलले अर्कैरूप लिने अनुमान गरिएको थियो । तर, भारतको अनुभवपाकिस्तानमाथि हाबी बन्यो ।
कप्तान अशालता देवीको १००औं अन्तर्राष्ट्रिय खेलमा पाँचौं मिनेटमै भारतले अग्रता लिएको थियो । रञ्जना चानु सोरोखैबामको क्रसमा बक्स नजिकैबाट ग्रेस डाङ्मेइको प्रहारले पहिलो बारको जाली चुमेको थियो । १७औं मिनेटमा भारतले अग्रतालाई दोब्बर बनायो । पाकिस्तानी रक्षक सान अम्बर मेहेदीको मिस पासको फाइदा उठाउँदै फरवार्ड अन्जु तामाङले मनिषालाई सुन्दर थ्रु पास मिलाइन् । कुनै पनि निगरानीमा नरहेकी मनिषाले कुनै पनि गल्ती नगरी वान भर्सेस वानमा गोलकिपर निशा अस्रफलाई बिट गरिन् ।
खेलको ३५औं मिनेटमा भारतले अर्को गोल थप्यो । गोलकिपर निशा अस्रफले आफ्नै खेलाडीले दिएको ब्याक पासलाई सिधै हातले समातेपछि भारतले पेनाल्टी बक्सभित्र इन्डाइरेक्ट फ्रिकिक प्राप्त गरेको थियो । जसको सदुपयोग भारतले राम्ररी गर्यो । यसपालि मनिषाको पासमा एनगाङगोम बाला देवीले सुन्दर गोल गरिन् । यस गोलसँगै ३५ वर्षकी बाला देवीले अन्तर्राष्ट्रिय फुटबलमा ५० गोलको आँकडा समेत पूरा गरिन् । भारतीय महिला फुटबलमा उनी सर्वाधिक गोलकर्ता हुन् ।
निर्धारित हाफ सकिन दुई मिनेट बाँकी रहँदा रञ्जना चानुको क्रसमा ग्रेसले व्यक्तिगत दोस्रो गोल गरिन् ।
इन्जुरी समयमा कप्तान अशालताले पाकिस्तानी फरवार्ड नादीया खानलाई लडाएपछि पाकिस्तानले पेनाल्टी प्राप्त गर्यो । जसमा सुहा हिरानी चुकिनन् । दोस्रो बारको टप कर्नरमा सुहाले गरेको शक्तिशाली प्रहारमा भारतीय गोलकिपर पान्थोइ चानुले कुनै पनि प्रतिक्रिया दिन भ्याएनन् ।
दोस्रो हाफको दोस्रो मिनेटमा कायल मारी सिद्धिकीले गोल गरेपछि पाकिस्तानले खेलमा फर्किने संकेत दिएको थियो । उनले खेललाई रोमाञ्चक मोडमा लगेकी थिइन् । तर, भारतले मध्यातिर थप एक गोल गर्दै खेल आफ्नो पक्षमा पार्यो । ७८ औं मिनेटमा वैकल्पिक खेलाडी ज्योतीले गोल गरिन् । उनी बाला देवीको ठाउँमा मैदान प्रवेश गरेकी थिइन् ।
साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध भारतको यो लगातार तेस्रो जित हो । यसअघि भारतले पहिलो संस्करणको सेमिफाइनलमा पाकिस्तानलाई ८-० ले पराजित गरेको थियो । अघिल्लो संस्करणमा यी दुई दोस्रो पटक खेलेका थिए । समूह चरणको उक्त भेटमा भारत ३-० ले विजयी भएको थियो ।
जितसँगै तीन अंक जोडेको भारतले समूहको दोस्रो खेलमा कार्तिक ७ गते बंगलादेशको सामना गर्नेछ । त्यसअघि पाकिस्तानले आफ्नो दोस्रो खेलमा कार्तिक ४ गते बंगलादेशसँग खेल्नेछ ।