काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिपअन्तर्गत भारत र पाकिस्तानबीचको उद्घाटन खेलमा गोलको वर्षा भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी समूह ‘बी’ को पहिलो खेलमा भारतले पाकिस्तानविरुद्ध पहिलो हाफमा ४–१ को अग्रता लिएको छ । भारतविरुद्ध एकपक्ष रुपमा निरीह देखिएको पाकिस्तानले इन्जुरी समयमा एक गोल थपेको हो । यसअघि भारतले पाकिस्तानी कमजोर रक्षापङ्क्तिको फाइदा उठाउँदै चार गोल गरेको थियो ।
खेलको पाँचौं मिनेटमै भारतले अग्रता लियो । रञ्जना चानु सोरोखैबामको क्रसमा बक्स नजिकैबाट ग्रेस डाङ्मेइको प्रहारले पहिलो बारको जाली चुमेको थियो । १७औं मिनेटमा भारतले अग्रतालाई दोब्बर बनायो । पाकिस्तानी रक्षक सान अम्बर मेहेदीको मिस पासको फाइदा उठाउँदै फरवार्ड अन्जु तामाङले गोलकर्ता मनिसालाई सुन्दर थ्रु पास मिलाइदिए । कुनै पनि निगरानीमा नरहेकी मनिसाले कुनै पनि गल्ती नगरी वान भर्सेस वानमा गोलकिपर निशा अस्रफलाई बिट गरिन् ।
खेलको ३५औं मिनेटमा भारतले खेलमा अर्को गोल थप्यो । गोलकिपर निशा अस्रफले बललाई चाहिए भन्दा धेरै नियन्त्रणमा राखेपछि भारतले पेनाल्टी बक्सभित्र इन्डाइरेक्ट फ्रिकिक प्राप्त गरेको थियो । जसको सदुपयोग भारतले राम्ररी गर्यो । यसपालि मनिसाको पासमा एनगाङगोम बाला देवीले सुन्दर गोल गरिन् ।
निर्धारित हाफ सकिन दुई मिनेट बाँकी रहँदा रञ्जना चानुको क्रसमा ग्रेसले व्यक्तिगत दोस्रो गोल गरिन् ।
इन्जुरी समयमा कप्तान अशालता देवीले पाकिस्तानी फरवार्ड नादीया खानलाई लडाएपछि पाकिस्तानले पेनाल्टी प्राप्त गर्यो । जसमा सुहा हिरानी चुकिनन् । दोस्रो बारको टप कर्नरमा सुहाले गरेको शक्तिशाली प्रहारमा भारतीय गोलकिपर पान्थोइ चानुले कुनै पनि प्रतिक्रिया दिन भ्याएनन् ।