काठमाडौं । ६ पटकको च्याम्पियन अस्ट्रेलियालाई ८ विकेटले हराउँदै दक्षिण अफ्रिका महिला ट्वान्टी २० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । दक्षिण अफ्रिका लगातार दोस्रो पटक फाइनलमा प्रवेश गर्याे ।
सन् २०२३ मा दक्षिण अफ्रिका फाइनलमा अस्ट्रेलियासँग १९ रनले पराजित भएको थियो । दक्षिण अफ्रिकाले ९ संस्करण नै विश्वकप खेलेको छ ।
यता, ६ पटक उपाधि जितेको अस्ट्रेलिया भने दोस्रो पटक सेमिफाइनलबाट बाहिरियो । टोली सन् २०१६ मा वेष्ट इन्डिजले उपाधि जित्दा उपविजेता बनेको थियो ।
अब, उपाधिका लागि दक्षिण अफ्रिकाले न्युजिल्यान्ड र वेष्ट इन्डिजबीचको विजेतासँग खेल्नेछ । याे खेल आज राति हुनेछ ।
बिहिबार राति अस्ट्रेलियाले पहिलो ब्याटिङ गर्दै पाँच विकेट गुमाएर १३५ रन बनाएको थियो । प्रत्युत्तरमा दक्षिण अफ्रिकाले १७.२ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।
एनेके बोस्चले सर्वाधिक ७४ तथा ओपनर लौरा वोल्भार्डले ४२ रन बनाएपछि दक्षिण अफ्रिकाले सहज जित निकालेको हो । यसअघि टस हारेर ब्याटिङ गरेको अस्ट्रेलियाको लागि बेथ मोनीले सर्वाधिक ४४ रन बनाएकी थिइन् ।