काठमाडौं । नेपालले घरेलु टोली अमेरिकालाई पहिलो ट्वान्टी २० खेलमा १७ रनले पराजित गरेको छ । शुक्रबार बिहान डालासमा भएको खेलमा अमेरिका नेपालविरुद्ध ब्याटिङ र बलिङतर्फ नै कमजोर प्रदर्शन गर्नपुग्यो ।
टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ६६ रनको लक्ष्य दिएको छ । प्रत्युत्तरमा अमेरिकाले पूरा २० ओभर खेल्दै ७ विकेट गुमाएर मात्र १४७ रन मात्र बनाउन सक्यो ।
प्रत्युत्तरमा ब्याटिङ सुरु गरेको अमेरिकाले पहिलो पावर प्ले मै तीन विकेट गुमाएपछि दबाबमा आएको थियो । दीपेन्द्रसिंह ऐरीले एकै ओभरमा लगातार दुई विकेट लिएपछि नेपाल सहज अवस्थामा आएको थियो ।
अमेरिकाको लागि शयन जहान्गिरले ३४ बलमा सर्वाधिक ६० रन बनाए । यसबोहक आन्द्रेस गौसले ३० तथा मिलिन्द कुमारले २२ रन बनाएका हुन् ।
नेपालको लागि दीपेन्द्रले तीन तथा रिजन ढकाल, करण केसी र गुल्शन झाले समान एक विकेट हात पारे ।
यसअघि टस हारेर ब्याटिङ गरेको नेपालको लागि कप्तान रोहितकुमार पौडेलले ३३ बलमा सर्वाधिक ४९ रन बनाएका थिए । दीपेन्द्रसिंह ऐरील्ो २८, तथा ओपनरद्वय अनिल शाह र आसिफ शेखले समान २७ रन बनाएका थिए । गुल्शन झाले ११ र कुशल भुर्तेलले १० रन बनाउँदा करण केसी र आरिफ शेख गोल्डेन डकआउट भएका थिए ।
अमेरिकाको लागि सौरभ नेत्राभाल्कर, जसदीप सिंह र हर्मित सिंहले समान दुई विकेट लिए ।
अमेरिका र नेपालबीच तीन ट्वान्टी २० खेल आयोजना हुँनेछन् । त्यसपछि दुबै टोली आईसिसी पुरुष क्रिकेट विश्वकप लिग २ मा सहभागी हुनेछन् । लिग २ को शृंखलामा नेपाल र अमेरिकासहित साविक च्याम्पियन स्कटल्यान्ड हुनेछ ।
अब, दोस्रो खेल आइतबार बिहान हुनेछ ।