काठमाडौं । जापानको फुकुओकामा आयोजना भइरहेको २०औं वर्ल्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा नेपाली पौडी खेलाडी गौरिका सिंहले नयाँ राष्ट्रिय कीर्तिमामन बनाएकी छन् ।
१३औं सागकी चार स्वर्ण पदकधारी गौरिकाले १ सय मिटर ब्याक स्ट्रोकमा १ मिनेट ६.८० सेकेन्ड समयमा दूरी पूरा गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी गराएका छन् ।
यसअघि गौरिकाले भारतको गुवाहटीमा भएको १२औं दक्षिण एसियाली खेलकुदमा १ मिनेट ७.३१ सेकेन्डको कीर्तिमान बनाएकी थिइन् ।
नेपाली पौडीबाज नासिर याह्या हुसेनले लगातार दोस्रो दिन नयाँ कीर्तिमान बनाए ।
नासिरले सोमबार २ सय मिटर फ्रिस्टाइलमा आफ्नै नाममा रहेको १ मिनेट ५८.२३ सेकेन्डको राष्ट्रिय कीर्तिमानमा सुधार गर्दै १ मिनेट ५७.२६ सेकेन्ड समयका नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।
यसअघि नासिरले आइतबार ४ सय मिटर फ्रिस्टायलमा पनि आफ्नै नामको कीर्तिमान सुधार गर्दै नयाँ कीर्तिमान बनाएका थिए ।
अर्की खेलाडी डुवाना लामाले मंगलबार २ सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने टोली ब्यवस्थापक नरेश वैद्यले जानकारी दिए ।