काठमाडौं । ललितपुरको सगरमाथा पौडी क्लबले दोस्रो नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि जितेको छ ।
नेपालगन्ज पौडी क्लब बाँकेको आयोजनामा सम्पन्न प्रतियोगितामा सगरमाथा क्लबले २७२ अंक जोड्यो ।
प्रतियोगिताका प्राविधिक प्रमुख विष्णु खड्का क्षेत्रीका अनुसार ५६ स्पर्धा समावेश प्रतियोगितामा १३५ अंक ल्याएर ललितपुरकै जेम्स स्कुल दोस्रो भयो । बाँके कोहलपुरको शिखा एकेडेमीले ५२ अंकसहित तेस्रो स्थान हासिल गर्यो ।
यसैगरी लिटिल एञ्जल्स स्कुल ललितपुरले ४६, आदर्श माध्यमिक विद्यालय नेपालगन्जले ३५, कोशी प्रदेशले २०, काठमाडौंको युनिग्लोब स्कुलले ११, स्प्रिङडेल स्कुल नेपालगन्जले १०, राई स्कुल काठमाडौंले ९, आयोजक नेपालगन्ज पौडी क्लबले आठ र बागेश्वरी एकेडेमी कोहलपुरले चार अंक बटुले ।
सगरमाथाका लागि अरेक कर्माचार्यले सात र रिजा अवालेले पाँच स्वर्ण पदक जितेका थिए ।
प्रतियोगितामा अरेक ब्वाइज तथा रिजा गर्ल्सतर्फ उत्कृष्ट ठहरिए । उनीहरुलाई जनही पाँच पाँच हजार रुपैयाँले पुरस्कृत गरिएको थियो ।
प्रतियोगितामा देशभरबाट १५० जना खेलाडीको सहभागिता थियो ।
विजेतालाई नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, नेपाल पौडी संघका केन्द्रीय अध्यक्ष जगतमान श्रेष्ठ र बाँकेका प्रहरी प्रमुख अंगुर जिसीलगातयतले पुरस्कार वितरण गरेका थिए ।
आयोजक नेपालगन्ज पौडी क्लबका अध्यक्ष केशवराज न्यौपानेले क्लब स्थापनाको छोटो अवधिमा नै राष्ट्रिय प्रतियोगिता सम्पन्न गर्न सफल भएकाले आगामी दिनमा अन्तर्राष्ट्रिय स्तरको पौडी प्रतियोगिता पनि आयोजना गर्ने उर्जा मिलेको बताए ।
उनले नेपाल पौडी संघ, राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद्लगायत तीन तहकै सरकारलाई पौडी खेललाई प्राथमिकतामा राख्न पनि आग्रह गरे ।
प्रतियोगितामा प्राविधिक सहयोग गरेको नेपाल पौडी संघ केन्द्रीय समितिले आगामी दिनमा नेपालगन्जमा विभागीय टिमसहितको राष्ट्रिय पौडी प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता जनाएका छन् ।
