काठमाडौं । आयोजक ग्रिनल्यान्ड आवासीय माविले १९औं ग्रिनल्यान्ड अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार सिनियर ब्वाइज, जुनियर ब्वाइज र सिनियर गल्ल्स तीनै विधमा विजयी सुरुआत गरेको छ ।
धापासीस्थित घरेलु कोर्टमा भएको सिनियर ब्वाइजको खेलमा ग्रिनल्यान्डले लालीगुराँस नेसनल एकेडेमी (एलएनए) लाई ३६-३२ ले पराजित गर्यो । ग्रिनल्यान्डका रोहित अधिकारीले १४ अंक जोडे ।
सिनियर ब्वाइजमै टिआइएले स्किब्सलाई ५९-४९, गोल्डेनपिकले क्यान्भास बसन्त ऋतुलाई ५६-२५ र भद्रकालीले रिलायन्स पब्लिकलाई ३५-३४ ले हराए ।
सिनियर गर्ल्समा ग्रिनल्यान्डले नव दीक्षितलाई २५-१४, ले निरास बनायो । विजेता टोलीका लागि प्रियंका चन्दले आठ अंक योगदान गरिन् ।
सोही स्पर्धामा क्यान्भासले ज्ञान संस्कारलाई २२-१७ र बेलमोन्टले टिआइएलाई १७-१३ ले पराजित गरे ।
जुनियर ब्वाइजमा ग्रिनल्यान्डले भद्रकालीविरुद्ध २३-६ को सहज जित निकाल्यो । ग्रिनल्यान्डका बियोन गुरुङले ९ अंक जोडे ।
गोल्डेनपिकले जेबी स्कुललाई १६-१५, रिलायन्स पब्लिकले ज्ञान संस्कारलाई १९-८ र एन्जल्स हार्टले फ्युजन एकेडेमीलाई २९-२२ ले निरास बनाए । ।
प्रतियोगिताको उद्घाटन प्याब्सनका केन्द्रीय उपाध्यक्ष तथा ग्रिनल्यान्डका प्राचार्य थकिनकुमार गुरुङ र सह-प्रचार्य विनोद घिमिरेले संयुक्तरुपमा गरे ।
दसदिने प्रतियोगिताको सिनियर ब्वाइजमा २४ तथा जुनियर ब्वाइज र सिनियर गर्ल्समा समान १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।