काठमाडौं । चैत १३ गतेका लागि तय भएको एन्फा निर्वाचनमा आफ्नो मताधिकारको दाबी गर्न पाटनको थ्री स्टार क्लब बुधबार एन्फा मुख्यालय जाने भएको छ ।
एन्फा निर्वाचन समितिले पटक–पटक स्थगित हुँदै आएको निर्वाचनको नयाँ मिति गत शुक्रबार घोषणा गरेको थियो । तालिकाअनुसार शुक्रबारै उम्मेदवार तथा मताधिकार प्रतिनिधिको नामावली प्रकाशन गरेको थियो ।
फागुन २८ गतेसम्ममा उम्मेदवार तथा मताधिकार प्रतिनिधिविरुद्ध दावी विरोध गर्न पाउने तालिका रहेकोमा थ्री स्टार एक दिन अगाडि निर्वाचन समितिको कार्यलय जान लागेको हो ।
मंगलबार पाटन उच्च अदालतको पूर्ण पाठ आएसँगै थ्री स्टारलाई मताधिकारको दाबी गर्ने बाटो खुलेको हो ।
पूर्ण पाठ अनुसार एन्फाको अनुशासन समिति र पुनरावेदन समितिले थ्री स्टारलाई रेलिगेशनमा पार्ने निर्णय गरेको थियो । तर, त्यो निर्णय क्लबलाई सुनुवाईको मौका नै नदिइकन एकपक्षीय तारिकाले भएको थियो । त्यसकारण अदालतले अनुशासन समिति र पुनरावेदन समिति दुबैले गरेको निर्णय खारेज गरेको छ । यस्तोमा थ्री स्टारलाई सुनुवाईको मौका दिएर पुनः निर्णय गर्न एन्फाको अनुशासन समिति र पुनरावेदन समितिलाई अदालतले आदेश दिएको छ ।
यही कारण थ्री स्टारले अदालतको पत्र लिएर आफूहरु शीर्ष डिभिजनमै रहेको र मताधिकार पाउनु पर्ने भन्ने जिकिरका साथ निर्वाचन समितिको कार्यलय धाउन लागेको हो ।
नयाँ तालिका अनुसार फागुन २९ मा पुनरावेदन समितिले दाबी विरोधमाथि निर्णय गर्ने, फागुन ३० मा दावी विरोधको पुनरावेदनपछिको अन्तिम नामावली प्रकाशन तथा चैत १३ मा निर्वाचन गर्ने उल्लेख छ ।
