काठमाडौं । इङ्ल्याण्ड तथा वेल्स क्रिकेट बोर्डको संयुक्त आयोजनामा हुने द हन्ड्रेडको खेलाडी छनोटका लागि हुने अक्सन आज(बुधबार) बाट सुरु हुदैछ ।
बिहीबारसम्म चल्ने अक्सनले द हन्ड्रेडमा सहभागी रहने महिला तथा पुरुष टिमको लागि खेलाडी चयन गर्नेछ । अक्सन नेपाली समय अनुसार बुधबार दिउँसो ३ः३० बाट सुरु हुनेछ ।
पहिलो पटक अक्सनबाट खेलाडी छनोट गर्न लागेको द हन्ड्रेडको अक्सनमा नेपाली क्रिकेटर सन्दीप लामिछाने समेत रहेका छन् । सन्दीपले आफ्नो बेस प्राइस करिब ६२ लाख नेपाली रुपैया राखेका छन् ।
सन्दीप पहिलो संस्करणको द हन्ड्रेडमा ओभल इन्भिन्सिबल्समा अनुबन्ध भएका थिए । प्रतियोगितामा सहभागीता जनाउन इङ्ल्याण्ड पुगेका सन्दीप भिषा समस्याका कारण लगत्तै स्वदेश फर्किएका थिए ।
अक्सनका लागि पुरुष तर्फ १ हजार खेलाडीले नाम दर्ता गरेकामा २४७ खेलाडी अन्तिम अक्सन सूचीमा अटाएका छन् । छैटौं संस्करणको द हन्ड्रेड आगामी जुलाइ २१ बाट सुरु हुदैछ ।
