धनगढी । सुदूरपश्चिम प्रदेशको अग्रणी शैक्षिक संस्था एसपीए कलेजले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी लोकेश बमलाई कलेजको ब्राण्ड एम्बासडरका रूपमा नियुक्त गरेको छ ।
मंगलबार कलेजको सभाहलमा आयोजित विशेष कार्यक्रममा बमलाई एसपीए कलेजको आधिकारिक ब्राण्ड एम्बासडरका रूपमा घोषणा गरिएको हो । कलेजले शिक्षा, खेलकुद तथा व्यक्तित्व विकासका क्षेत्रमा विद्यार्थीहरूलाई प्रेरित गर्ने उद्देश्य राखेर लोकेसलाई उक्त जिम्मेवारी प्रदान गरेको जनाएको छ ।
लोकेश एसपीए कलेजका विद्यार्थी हुनुका साथै नेपाली क्रिकेटमा उदाउँदा प्रतिभाशाली विकेटकिपर(ब्याट्सम्यानका रूपमा परिचित छन् । उनले हालै सम्पन्न ट्वान्टी २० विश्वकप एवं राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा विभिन्न घरेलु क्रिकेट प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम प्रदेश तथा समग्र राष्ट्रको गौरव बढाउन महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन् ।
कलेजमा अध्ययनरत रहँदा नै लोकेसले खेलकुद क्षेत्रमा आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए । निरन्तर मेहनत, अनुशासन र उपलब्धिका कारण उनी आज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित खेलाडीका रूपमा स्थापित भएका छन् ।
ब्राण्ड एम्बासडर नियुक्त भएपछि प्रतिक्रिया दिँदै क्रिकेटर लोकेशले आफू अध्ययन गरेको कलेजसँग जोडिन पाउँदा खुशी लागेको बताए । एसपीएले सधै नै उत्साहीत गराउँदै आईरहेको छ । आजको यो अवसरका लागि कलेजका प्रबन्ध निर्देशक सुवास शाहीलाई धन्यवाद दिदै यस्ता कार्यक्रम र अवसरले आफुहरुलाई प्रेरीत गर्ने बताए ।
साथै लोकेशले एसपीए कलेजले शिक्षा र खेलकुदलाई सँगै अघि बढाउँदै विद्यार्थीहरूलाई राम्रो वातावरण प्रदान गरिरहेको उल्लेख गर्दै आगामी दिनमा विद्यार्थीहरूलाई प्रेरित गर्न आफूले सक्दो भूमिका निर्वाह गर्ने बताए ।
सोही अवसरमा क्याम्पस प्रमुख बुधराम चौधरीले एसपीए कलेज र खेलकुद प्रर्यायबाची भएको बताउँदै विद्यार्थीहरु को सफल भविष्यको लागि सबै खेल सबै विधाका विद्यार्थीहरु लाई उत्तिकै महत्वका साथ अवसर प्रदान गर्दै आइरहेको र आगामी दिनमा गर्ने बताए ।
कलेजका प्रबन्ध निर्देशक सुवास शाहीले पनि लोकेसलाई ब्राण्ड एम्बासडर नियुक्त गर्नु कलेजका लागि गर्वको विषय भएको बताए । उनले एसपीए कलेजले अध्ययनसँगै खेलकुदको अवधारणालाई आत्मसात गर्दै आएको उल्लेख गर्दै बमको सफल यात्राले कलेजका विद्यार्थीहरूलाई शिक्षा र खेलकुद दुवै क्षेत्रमा उत्कृष्टता हासिल गर्न प्रेरणा दिने विश्वास व्यक्त गरे ।
सोही अवसरमा कलेजले लोकेश बम र विद्यार्थीहरु का बिच विषेश प्रेरणदायी प्रश्नोउत्तर, अन्तरक्रिया कार्यक्रम समेत गरेको थियो । एसपीए कलेजले यसअघि पनि नारायण जोशी, कविता कुँवर र शेर मल्ल लगायतका क्रिकेट खेलाडीहरूलाई कलेजको ब्राण्ड एम्बासडरका रूपमा नियुक्त गरिसकेको छ । कलेजले आगामी दिनहरूमा पनि विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि यस्ता पहलहरूलाई निरन्तरता दिने जनाएको छ ।
