काठमाडौं । एन्फा राष्ट्रिय लिगमा पुछारको नव जन जागृति क्लबमाथि ४–० को जित हासिल गर्दै मछिन्द्र एफसी अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
मंगलबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न दिनको दोस्रो खेलमा मछिन्द्रलाई जित दिलाउन जोनाथन क्यान्टिलानाले ह्याट्रिक गरे । त्यस्तै एक गोल रेजिन सुब्बाको नाममा रह्यो । जितसँगै मछिन्द्र ९ खेलमा २१ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको हो । समान खेलमा जन जागृतिले अंकको खाता खोल्न सकेको छैन ।

त्यसअघि बिहान १२ः१५ बजे भएको दिनको पहिलो खेलमा मनाङ मर्स्याङ्दीले चित्लाङ एफसीलाई २–० ले हरायो । मनाङलाई जित दिलाउन स्यरब लो तामाङ र सुमित मल्लले गोल गरे । जितसँगै मनाङ १० खेलमा १२ अंक जोड्दै १२औं स्थानमा उक्लियो । समान खेलमा ७ खेल जोडेको चित्लाङ पुछारबाट चौथो स्थानमा छ ।
लिगमा बुधबार दुई खेल हुनेछन् । बिहान १२ः१५ बजे हुने पहिलो खेलमा न्युरोड टिम (एनआरटी)ले लालिगुराँस एसोसिएसनसँग खेल्नेछ । त्यसपछि दिउँसो ४ बजे जावलाखेल युवा क्लब र सातदोबाटो युवा क्लब आमने–सामने हुनेछन् । दुबै खेल सातदोबाटोमै हुनेछन् ।
