फाल्गुन १३, २०८२ बुधबार | ०६:४८:१६
केभीकेएसएस र तेजस्वी सेमिफाइनलमा बुदोकैदो टोली रुस जाने फ्रेन्ड्स र चित्लाङले अंक बाँडे बागमती र आर्मी फेरी बराबरी रोकिए एन्फा महिला लिग चैत ४ बाट विभिन्न संघ-संस्थाहरु सावित्राको उपचार निःशुल्क गरिदिन तयार पुलिसले एपिएफलाई हरायो उदीयमान गोलकिपर कृशलसहित तीन खेलाडी अस्ट्रेलिया पलायन सावित्राको उपचारका लागि खर्च जुट्यो, नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी सहयोग च्याम्पियन्स लिगः इन्टर मिलानलाई बाहिरिने खतरा केभीकेएसएस र तेजस्वी सेमिफाइनलमा बुदोकैदो टोली रुस जाने फ्रेन्ड्स र चित्लाङले अंक बाँडे बागमती र आर्मी फेरी बराबरी रोकिए एन्फा महिला लिग चैत ४ बाट विभिन्न संघ-संस्थाहरु सावित्राको उपचार निःशुल्क गरिदिन तयार पुलिसले एपिएफलाई हरायो उदीयमान गोलकिपर कृशलसहित तीन खेलाडी अस्ट्रेलिया पलायन सावित्राको उपचारका लागि खर्च जुट्यो, नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी सहयोग च्याम्पियन्स लिगः इन्टर मिलानलाई बाहिरिने खतरा

टाउकाले दौडन सिक गोपी

जापानको टोकियोमा गृष्मकालीन ओलम्पिकको ३२ औं संस्करण सम्पन्न भइसकेको छ । नेपाली टोली पनि आफ्नो क्षमताअनुसार सहभागिता जनाएर फर्किसकेको छ । त्यसैले धावक गोपीचन्द्र पार्कीमाथि भएको अन्यायको विषयमा चर्चा गर्नु अहिले सान्दर्भिक नहोला । 

तर विधि र विधानले पूर्ण रूपमा नियन्त्रण राख्ने विश्वास लिइने खेलकुदमा पनि नियम र मर्यादाको कसरी बलात्कार गरिन्छ भन्ने बुझ्न टोकियो ओलम्पिकमा नेपाली सहभागिताको बेथितिको चर्चा आवश्यक छ । ‘रात गयो बात गयो’ भनेर छोडिरहने हो भने नेपाली खेलकुद कहिल्यै थितिमा आउने छैन । सधैँ आमखेलाडीले गोपीचन्द्रको नियति भोगिरहनुपर्नेछ ।

यहाँ त गोपीचन्द्रमात्र नभई एउटै प्रकरणमा उनको सट्टा ओलम्पिकमा सहभागी गराइएकी धाविका सरस्वती चौधरीमाथि पनि नेपाली खेल प्रशासनले अन्याय गरेको छ । 

नेपाल एथलेटिक्स संघ र नेपाल ओलम्पिक कमिटीले अन्तिम समयमा आएर अचानक गोपीको ठाउँमा सरस्वतीलाई सहभागी गराउने जुन ‘हुकुम’ सुनाएको थियो । 

ओलम्पिक आफैंमा सबैका लागि विश्व खेलकुदको सबैभन्दा ठूलो मेला । विकसित देशका विश्वस्तरीय खेलाडीका लागि पनि ओलम्पिकमा सहभागिता जनाउने विषय ठूलो हुने गर्छ । हामीजस्तो निरीह देशका निमुखा खेलाडीका लागि त ओलम्पिक भनेको जीवनभरकै ‘क्लाइमेक्स’ क्षण हो । 

संसारकै सबै खेलाडीको अन्तिम लक्ष्य भनेकै ओलम्पिक हो । हामी त्यसैगरी स्कुलिङ भएर आएका हौं । सानै देखि एउटा खेलाडीले बनाउने गन्तब्य भनेको ओलम्पिक नै हो । त्यहाँ गएर स्वर्ण जित्नु र विश्व कीर्तिमान बनाउनु अरु देशका खेलाडीको लक्ष्य हो । हामीजस्तो देशका खेलाडीको लागि त्यहाँ गएर आफ्नो तर्फबाट बेस्ट प्रदर्शन गर्नु र एउटा ओलम्पिक खेलौं भन्ने हो । 

सरस्वतीका लागि पनि यो जीवनभरकै स्मरणलायक अनुभव हुन सक्थ्यो । तर ओलम्पिक जस्तो ठूलो खेलमेलामा देशको प्रतिनिधित्व गर्ने गौरवमय अवसरका लागि तयार हुन सरस्वतीले दुई साताको समयमात्र पाइन् । जसले गर्दा जीवनभरकै मीठो स्मरण बन्नसक्ने विषय सरस्वतीका लागि भने खल्लो भयो । 

आम मानिसको बुझाइमा ओलम्पिकमा नेपालबाट को गयो भन्ने कुराले खास अर्थ राख्दैन । जो गए पनि सहभागिता नै त हो भन्ने छ आम मान्छेको बुझाइमा । त्यसकारण सरस्वती जानु या गोपी जानुमा खास भिन्नता देखिँदैन । तर हामीले देखेका छौं, हामीले बुझेको छौं । त्यो फरक हामीले मात्र छुट्याउन सक्छौं । ऊ गएको भए के हुन्थ्यो, ऊ जाँदा के भयो भनेर । धेरै मान्छेले यो बुझ्दैनन् । आम मानिसले नबुझ्नुको कारण हो यो दुर्घटना । त्यसैले खेलाडी स्वयं जबसम्म टाउकाले दौडने क्षमता राख्दैन, तबसम्म केही हुँदैन । 

नेपालमा ओलम्पिक सहभागिता प्रत्येक पटक कुनै न कुनै रूपमा विवादित हुने गरेको छ । त्यसको सबैभन्दा ठूलो सिकार खेलाडी नै बन्ने गरेका छन् । यसको एउटा भुक्तभोगी स्वयं म पनि हुँ । त्यसैले नेपाली खेल राजनीति कति दूषित छ र यहाँ कस्तासम्म तिकडम गरिन्छन् भन्ने विषयमा मलाई राम्रो जानकारी छ । 

एकछिन टोकियो ओलम्पिक २०२० को तयारीस्वरुप ९ महिनाअघि नेपालगन्जमा भएको छनोट प्रतियोगिताको स्मरण गरौं । ओलम्पिक छनोट भनेर गराइएको नेपालगन्ज म्याराथनमा गोपीचन्द्र च्याम्पियन भए । त्यसपछि नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव नीलेन्द्रराज श्रेष्ठले गोपीचन्द्र ओलम्पिकलाई छनोट भएको घोषणा गरिदिए । 

गल्ती यहीँनेर भयो । एथलेटिक्सबाट को छनोट भयो भनेर घोषणा गर्ने एथलेटिक्स संघले हो कि ओलम्पिक कमिटीले हो ? संघ स्वायत्तताको ठुल्ठूला कुरा गर्नेले यस्तो गर्न मिल्छ ?

सुरुमा एनओसीले यही हो छनोट प्रतियोगिता, तिमी छनोट भयौं भनेर भनिदियो । ऊ (गोपीचन्द्र) पनि १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता खेलाडी हुन् । एनओसीको उनलाई ओलम्पिक खेलाउने योजना थियो भने म्याराथनमा छनोट गराउँदैनथ्यो ।

सागमा गोपीचन्द्रले मध्यम दुरीको ५ हजार मिटर दौडमा स्वर्ण जितेको थियो । तर ५ हजार मिटरको इभेन्ट र म्याराथनको इभेन्टमा धेरै फरक छ । गोपीले १० हजार मिटरमा स्वर्ण पदक जितेको भए कुरा बेग्लै हुन्थ्यो । १० हजार मिटरको धावकले कठिन मिहिनेत गर्यो भने म्याराथन दौडन सक्छ भन्ने हुन्छ । प्राविधिक हिसाबमा पनि यो कुरा मिलेको थिएन ।

गोपीचन्द्रलाई ओलम्पिक पठाउने योजना नै थियो भने ५ हजार मिटरमै प्रयास गरिन्थ्यो । नेपालमा ५ हजार मिटर दौडने खेलाडी पनि धेरै थिएनन् । कोभिड–१९ को जस्तोसुकै महामारी भए पनि रंगशालामा बोलाएर ५ हजार मिटर दौडने सीमित खेलाडीबीच छनोट प्रतियोगिता गर्न सकिन्थ्यो । नेपालगन्जसम्म पुगेर त्यत्रो जात्रा गर्नु जरुरी थिएन । 

गोपीचन्द्रले ओलम्पिक खेल्न पाउने कुरामा मलाई सुरुदेखि नै शंका थियो । बोल्नुपर्ने एथलेटिक्स संघ चुइँक्क पनि गर्दैन । एनओसीका महासचिवले एथ्लेटिक्सको विषयमा घोषणा गरेको छ । 

म्याराथनकै छनोट प्रक्रियामा पनि एथलेटिक्स संघको धेरै कमजोरी भएको छ । छनोट प्रक्रिया नै त्रुटिपूर्ण छ । ओलम्पिकलाई छानिएको घोषणा गरेका खेलाडीलाई महिनौंसम्म अभ्यास गराएर, सपना बुन्न लगाएर अनि खेल्नुभन्दा एक महिनाअगाडि खेल्न पाउँदैनस् भन्दा त्यो खेलाडीमा कस्तो वज्रपात हुन्छ भन्ने एउटा खेलाडी भएको नाताले म अनुभव गर्न सक्छु ।  

अहिले गोपीलाई परेको पीडामा मेरो सहानुभूति छ । तर यहाँ गोपी प्रकरणमा सबै पक्षको कमजोरी छ । संघ, एनओसी र खेलकुद परिषद कोही पनि चोखा छैनन् । गोपीले खेल्न नपाउने स्पष्टीकरण दिएको विज्ञप्ति तीनवटै पक्षले संयुक्त रूपमा जारी गर्नुले नै दालमा कालो होइन, दाल नै कालो भएको प्रमाण दिन्छ । यदि त्यहाँ कुनै षडयन्त्र नभएको भए एनओसीका महासचिवले एक्लै विज्ञप्ति जारी गरे पर्याप्त हुन्थ्यो, हामी पत्याउँथ्यौं । 

अनावश्यक रूपमा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव (रमेशकुमार सिलवाल), संघका अध्यक्ष (राजीवविक्रम शाह) र एनओसीका महासचिव (नीलेन्द्रराज श्रेष्ठ) ले संयुक्त रूपमा विज्ञप्ति जारी गर्नु भनेको मानिसले पत्याऊन भनेर हो । आम मानिसले जे गरे पनि गोपीले चाहिँ उनीहरूको विज्ञप्ति पत्याउने छैनन् ।

समग्रमा यो एथलेटिक्स संघकै दोष हो । अरू कसैलाई दोष दिएर पन्छिन मिल्दैन । संघले के गर्नुपर्छ भने आफ्ना खेलाडीको इन्ट्री गरिसकेपछि भयो कि भएन भनेर फलोअप गर्ने सम्पूर्ण काम संघको हो । त्यसपछि भएन भने आफैंले सोझै सम्पर्क गरेर खेलाडीको इन्ट्री गराउन सक्नुपथ्र्यो । त्यति गर्न नसके मेरो खेलाडीको नाम किन इन्ट्री भएन भनेर एनओसीलाई दबाब दिन सकिन्थ्यो । नेतृत्वको नियत सफा थियो र उनीहरू पारदर्शी भएको भए मंसिरमा प्रतियोगिता गरेदेखि नै संघले लगातार यसलाई पछ्याइरहनुपथ्र्यो । तर, यहाँ संघले पहल नै गरेन । 

छनोट प्रतियोगिता भनेर प्रचार गरिएको नेपालगन्ज म्याराथनमा एनओसीका अध्यक्ष र महासचिव नै पुरस्कार दिन पुगेका छन् भनेर शंकाको लाभ पनि संघलाई दिनुहुन्न । खास कुरा के हो भने एथलेटिक्स नेतृत्वलाई एनओसीले मन पराउँदैन । संघ नेतृत्वले पनि एनओसीलाई सहयोग गर्दैन । खास ‘टसल’ यहीँनेर हो । संघ र एनओसीबीचको टसलको सिकार एउटा निर्दोष खेलाडी हुनुपर्यो । 

यो प्रकरणमा गोपीको पनि ठूलो गल्ती छ । यो देशमा खेलाडीले खुट्टाले मात्र दौडेर पुग्दैन, टाउकाले दौडनुपर्छ भन्ने कुरा गोपीले बुझेन । यो उसको कमजोरी हो । नेपाल सिस्टममा चलेको देश होइन । यहाँ त अथाह राजनीति छ । एनओसी र एथलेटिक्स संघको सम्बन्ध राम्रो छैन भन्ने प्रस्ट छ । 

यही ओलम्पिक तयारीको दौरान महिनौंदेखि अरू खेलका खेलाडी र प्रशिक्षकले मासिक ५ सय डलरको छात्रवृत्ति पाइरहेका थिए । तर सबैभन्दा पहिला छनोट गरिएको गोपीले नै पाएन । राजनीति यहीँबाट बुझ्नुपर्ने थियो, जुन गोपीको खेलाडी दिमागले भेउ पाउन सकेन । सायद उसले सागमा जित्नेबित्तिकै केही बोलेको हुनसक्छ, जुन एनओसी पदाधिकारीलाई मनपरेन । अहिले त्यसकै बदला लिइएको पनि हुनसक्छ ।

मंसिरमा छनोट गरेर असारमा आएर एउटा खेलाडीलाई यस्तो गर्दा ठूलो अन्याय हुन्छ । अझ म्याराथन खेलाडीले ओलम्पिक खेल्ने सपनाका लागि यो आठ महिनामा धेरै पसिना बगाएका हुन्छन् । हप्तामा १ सय २० देखि १ सय ८० किलोमिटर दौडनुपर्छ । त्यसमा पसिना कति बगे भन्ने कुराको लेखाजोखा कस्ले गर्ने ? खेलाडीको त्यो पसिना केहीसँग पनि तुलना गर्न सकिन्न । 

गोपीले निर्विवाद रूपमा ओलम्पिक खेल्न पाउनुपर्थ्यो । धेरै वर्ष योगदान गरेका खेलाडी मात्र नभई ऊ त आधिकारिक छनोट प्रतियोगिताबाट छानिएका खेलाडी पनि हुन् । पक्कै पनि उसलाई अहिले ठूलो वज्रपात भएको छ । 

मेरो डोपिङ प्रकरण र गोपीले ओलम्पिक खेल्न नपाएको विषयको पीडा चाहिँ एउटै हो । यद्यपि तरिका एकदम फरक हो । उसले ओलम्पिकको मुखमा आएर खेल्न पाएन, योभन्दा ठूलो पीडा त हुनै सक्दैन । अर्को कुरा मैले जितिसकेको पदक फिर्ता गर्नुपरेको छ, त्यो पीडा पनि सानो थिएन । 

मेरो कसरी भयो भन्ने विषयमा अहिले १५/१६ वर्षपछि पनि सुत्दा म सोच्छु । तर अहिलेसम्म म आफैंले कारण थाहा पाउन सकेको छैन । गोपीलाई पनि अहिले निकै नराम्ररी घुमाए । 

त्यसमै रूमल्लिएर निराश भइरहनु चाहिँ हुँदैन । गोपीको त्यति धेरै उमेर गइसकेको छैन । ऊ भर्खर ३० वर्षको भयो । ३० वर्षलाई म्याराथनमा धेरै उमेर मानिँदैन । अवसर फेरि पनि आउन सक्छ । त्यसैले नेपाली खेलकुद राजनीतिको कुरूप अनुहार देखिसकेकाले गोपीले उनीहरूले निकालेको विज्ञप्तिका कुरालाई विश्वास गर्नुपर्छ । किनकि ऊसँग त्यसको विकल्प छैन । अब टाउको फुटाएर मरे पनि गोपीले टोकियो ओलम्पिकमा सहभागिता जनाउन सक्ने होइनन् । 

खुट्टाले होइन, टाउकाले दौडन सिक्नुपर्छ । नत्र, दौडिन छाडेकै ठिक हुन्छ । हाम्रो र अरू देशको फरक यही हो । हाम्रो देशमा टाउकाले पनि दौडन सिक्नुपर्छ । सिस्टम भएका देशमा खुट्टाले मात्र घडीअनुसार दौडिए पुग्छ । तर हामीकहाँ चाहिँ अवस्था हेरेर टाउकाले पनि दौडनुपर्छ । यो हामीजस्ता खेलाडीले भोगेको र अनुभव गरेको विषय हो । म आफैंले जति नाम बनाउन सकें, त्यो टाउकाले दौडन सिकेर हो । नेपालमा जो जो स्थापित खेलाडी छन्, ती मान्छे भनेको सबै टाउकाले नै खेल्न सिकेकाहरू हुन् । 

खेलाडीको अभिभावक भनेको संघ, राखेप र एनओसी हुन् । तर यिनैको मिलोमतोमा खेलाडीमाथि अन्याय भएपछि अभिभावकविहीन जस्तो देखिन्छ । १३ औं सागमा नेपालले ५१ स्वर्ण पदक जित्यो । त्यसलाई जिताउन अहोरात्र पर्दापछाडि खटिने प्रशिक्षकहरू पनि यहाँ छन् । यो सबलाई थाहा छ । तर तीन जनामात्र कर्मचारीले राष्ट्रपतिबाट पदक पाए ।

देशका लागि पदक जितेका खास खेलाडी र प्रशिक्षक छुटेको विषयमा आलोचना भएपछि पदाधिकारीले खुलेआम ‘हामीले गेम गरायौं र तिमीले पदक जित्यौ । हामीले गेम नगराएको भए तिमीहरूले कसरी पदक जित्थ्यौं’ भन्न रत्तिभर डर मानेनन् । यस्तो हुँदा पनि कुनै संघ र त्यसको नेतृत्व सरकारी निर्णयविरुद्धमा डटिएर उभिएको देख्न पाइएन ।

खेलाडीका लागि संघ छ, मेरो अध्यक्षले बोल्ला भन्ने कुरा हाम्रो नेपालमा लागू हुँदैन । खेलाडी आफैं चलाख हुनु आवश्यक छ । यहाँ हामी खेलाडीका कोही अभिभावक छैनन् । अरू सबैको त औपचारिकता मात्र हो, जबसम्म आफ्नो स्वार्थ पूरा हुँदैन, तबसम्म प्रयोग गर्छन् । स्वार्थ पूरा भएपछि सकियो ।

अन्तमा, गोपीले अब बोल्ने कुरालाई पूरा बन्द गर्नुपर्छ । ‘मैले यसरी अभ्यास गरेको थिएँ । यति समयमा दौडन्थें’ भन्यो भने त्यो कुरा मानिसले पत्याउँदैनन् । तर सन् २०२३ मा पाकिस्तानमा साग हुँदै छ । त्यसमा स्वर्ण पदक जितेर देखाउन सक्यो भने त्यसको ठूलो अर्थ रहन्छ । अहिले २ घण्टा १५ मिनेटमा दौडन्छु भन्दा मानिसले नपत्याउन सक्छन् । जान नपाएर भन्यो भन्ने आरोप लगाउन सक्छन् । तर पाकिस्तानमा वैकुण्ठ (मानन्धर) गुरुको कीर्तिमानमा सुधार गर्दै स्वर्ण पदक जित्न सके अहिले गोपीलाई रोक्नेहरू पनि थक्थकाउन बाध्य हुनेछन् ।

गोपीसँग अझै दुईवटा ओलम्पिक खेल्ने अवसर छ । त्यसैले गोपी, अब बोल्न बन्द गर्, टाउकाले दौडन सिक । जुन दिन गर्न पाउँछौं, त्यो दिन प्रमाणित गरेर देखाइदेउ, च्याप्टर क्लोज ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||