काठमाडौं । राजधानीको दरबारमार्गलगायतका स्थानमा रहेको अग्रणी ‘मल्टि–ब्राण्ड लाइफस्टाइल’ स्टोर ब्रान्ड हाउसले मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी रवीन्द्र ढाँटलाई आफ्नो ब्रान्ड एम्बासडरका रुपमा अनुबन्धित गरेको छ ।
ब्रान्ड हाउसले साझेदारीलाई खेलकुद, फिटनेस तथा स्वदेशी प्रतिभाको प्रवद्र्धनप्रति गरिएको प्रतिबद्धताको एक महत्वपूर्ण कदमका रुपमा लिएको छ ।
रवीन्द्रसँगको सहकार्यले युवाहरुलाई प्रेरित गर्नुका साथै खेलकुद र लाइफस्टाइल फेसनबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने उद्धेश्य ब्रान्ड हाउसले बोकेको छ । सम्झौताअनुसार ब्रान्ड हाउसले रवीन्द्रलाई वार्षिक १५ लाख रुपैयाँ पारिश्रमिक प्रदान गर्नेछ ।
त्यस्तै ब्रान्ड हाउसले रवीन्द्रसँगको सहकार्यले अन्तर्राष्ट्रिय मञ्चमा समर्पण, अनुशासन र कठोर परिश्रमका साथ राष्ट्रको प्रतिनिधित्व गरिरहेका नेपाली खेलाडीहरुलाई प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरेको छ ।

उता रवीन्द्रले पनि सहकार्यप्रति आभार व्यक्त गर्दै ब्रान्ड हाउसजस्तो प्रतिष्ठित ब्रान्डको साथले आगामी यात्रामा थप प्रेरणा मिल्ने बताए । ‘यसरी प्रतिष्ठित ब्रान्डको साथले खेलाडीहरुलाई थप प्रेरणा दिने गर्छ । नेपालमा कम्ब्याट स्पोर्टसको विकासमा यस किसिमको साथले महत्वपूर्ण भूमिका खेल्ने गर्छ,’ रवीन्द्रले भने ।
ब्रान्ड हाउसले दरबारमार्ग, सिभिल मल, सिटी सेन्टर, कुमारीपाटी र पोखरामा आफ्नो स्टोर सञ्चालन गर्दै आएको छ । जहाँ एडिडास, नाइके, रिबोक, एसिक्स र अन्डर आर्मर जस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरुका उत्पादनहरु उपलब्ध छन् । शनिबारको कार्यक्रममा कम्पनीले २०२६ मा ‘क्याजुअल मल्टि–ब्रान्ड स्टोर सुरु गर्ने योजनाको पनि घोषणा गरेको छ ।
