काठमाडौं । कुशल मल्लको अलराउण्ड प्रदर्शनको सहयोगमा विभागीय टोली त्रिभुवन आर्मी क्लब अपराजित रहँदै प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ ।
बिहिबार सम्पन्न आफ्नो दोस्रो खेलमा जित हासिल गर्ने क्रममा गण्डकी प्रदेशलाई ७ विकेटले हराउँदै आर्मी शीर्ष स्थानमा उक्लिएको हो । २१० रनको लक्ष्य आर्मीले ३४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
आर्मीको जितमा कुशल मल्लले बलिङमा २ विकेट र ब्याटिङमा अविजित ४३ रन जोडे । आर्मीका लागि तृतराज दास, कप्तान विनोद भण्डारी र भीम सार्कीले अर्धशतक बनाए ।
कप्तान विनोदले सर्वाधिक ५८ रन बनाए । उनले ५७ बलमा ७ चौका र २ छक्का प्रहार गरे । भीम ५३ बलमा ५४ रनमा अविजित रहँदा तृत ५१ बलमा ५१ रन बनाउँदै आउट भए । अर्जुन साउद रनको खाता नखोल्दै आउट हुँदा कुशल मल्ल रनमा ४३ अविजित रहे । गण्डकीका लागि सुवास भण्डारीले २ तथा कप्तान विपिन खत्रीले १ विकेट लिए ।
त्यसअघि तल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको गण्डकी ४९ दशमलब ४ ओभरमा २०९ रन बनाउदै अलआउट भयो ।
गण्डकीका लागि ओपनर अर्जुनले लगातार पाँचौ एकदिवसीय खेलमा ५० भन्दा माथिको रन प्रहार गरे । उनले सर्वाधिक ६७ रन बनाए । अर्जुनले १०२ बलको सामना गरेर ४ चौका र १ छक्का प्रहार गरे ।
अर्जुनले पिएम कपको राष्ट्रिय प्रतियोगितामा लगातार दुई तथा प्रदेश छनोटको पछिल्ला तीन खेलमा ५० रन भन्दा धेरैको योगदान गरेका हुन् । अघिल्लो खेलमा बागमती प्रदेशविरुद्ध ७४ रनको इनिङ खेलेका थिए ।
अर्जनले पिएम कपका लागि भएको गण्डकी छनोटको सेमिफाइनल र फाइनलमा सानदार शतक प्रहार गर्दा समूह चरणको अन्तिम खेलमा अर्धशतक बनाएका थिए । फाइनलमा नवलपुर जिल्लाविरुद्ध अर्जुनले १३१ बलमा १११ तथा सेमिफाइनलमा तनहुँ जिल्लाविरुद्ध ११८ बलमा १०३ रन बनाएका थिए ।
अर्जुनले चौथो विकेटका लागि दिपक डुम्रेसँग मिलेर ६२ रनको साझेदारी गरे । दिपकले ४५ बलमा ५१ रनको अर्धशतकीय इनिङ खेले । गण्डकीका अन्य ब्याटरले सम्झनलायक प्रदर्शन गर्न सकेनन् ।
आर्मीका लागि आकाश चन्द र शाहब आलमले समान ३ तथा कुशल मल्लले २ विकेट आफ्नो नाममा गरे । दोस्रो खेलमा अपराजित रहँदै आर्मी ४ अंकका साथ शीर्ष स्थानमा उक्लिदा २ खेलमा गण्डकी अंकबिहिन रहेको छ ।
प्रतियोगितामा ३ विभागीय (नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब) र ७ प्रदेश (कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदरपश्चिम) का गरि जम्मा १० टोलीको सहभागीता रहन्छ ।
२८ दिनसम्म चल्ने प्रतियोगितामा फाइनल सहित ४६ खेल आयोजना हुदैछ । लिग चरणमा सबै टोलीले एक आपससँग खेले पछि शीर्ष २ मा रहने टोलीका बीचमा फाइनल खेल हुनेछ ।
प्रतियोगिताको विजेताले नगद १० लाख पाउँदा उपविजेताले ५ लाख प्राप्त गर्नेछन् ।
यसपटकको प्रतियोगिता काठमाडौंका २ तथा मधेश प्रदेशका २ क्रिकेट मैदानमा हुदैछन् । काठमाडौंको माथिल्लो र तल्लो मुलपानी क्रिकेट मैदानमा समान ५ तथा फाइनल सहितका अन्य खेलहरु मधेश प्रदेशको पर्सा र जनकपुरमा हुदैछ ।
