काठमाडौं । इशानको लगातार दोस्रो तथा पवन थापाको पहिलो अर्धशतकको सहयोगमा बागमती प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबलाई २६६ रनको ऐतिहासिक विजयी लक्ष्य दिएको छ ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा भइरहेको खेलमा पुलिसले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको बागमती ४९ दशमलब २ ओभरमा २६५ रनकाे ऐतिहासिक योगफलमा अल आउट भयो ।
बागमतीले पिएम कपको इतिहासमा कुनै पनि विभागीय टोलीविरुद्ध बनाएको यो सर्वाधिक ठूलो योगफल हो । बागमतीले यसअघि तत्कालिन प्रदेश नंम्बर ३ को नामबाट खेल्दै एपिएफ क्लबविरुद्ध सन् २०१९ को प्रतियोगितामा २४७ रन बनाएको थियो ।
बागमतीका लागि पवनले सर्वाधिक ७९ रनको बनाए । पवनले १०१ बलमा ६ चौका र १ छक्का प्रहार गरेका थिए । पवनले यसै प्रतियोगिताबाट पिएम कपमा डेब्यु गरेका थिए । चौथो विकेटका लागि पवनले इशानसँग मिलेर १२४ रनको साझेदारी गरे । उपकप्तान इशानले ८० बलमा ७१ रनको इनिङ खेले ।
गण्डकीसँग भएको अघिल्लो खेलमा समेत इशानले ७० रनको अर्धशतकीय इनिङ खेलेका थिए । आशुतोष घिरैया २२, उत्तम थापा २१ तथा कप्तान सन्दीप लामिछाने १३ रनमा आउट भए ।
पुलिसका लागि दिनेश खरेल र रशिद खानले मिान ३ तथा करण केसीका नाममा २ विकेट रह्यो । डिफेन्डिङ च्याम्पियन पुलिस र बागमती दुवैले तेस्रो खेल खेल्दैछन् । दुवै टोलीले पहिलो खेलमा पराजित हुँदा दोस्रोमा भने फराकिलो जित हात पारेका थिए ।
पुलिस पहिलो खेलमा अर्को विभागीय टोली आर्मीसँग पराजित हुँदा दोस्रो खेलमा एपिएफमाथि फराकिलो जित हात पारेको थियो । उता बागमतीले पहिलो खेल एपिएफसँग गुमाउँदा दोस्रो खेलमा गण्डकी प्रदेशसँग जित हासिल गरेको थियो ।
