काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आजको खेल जित्दै मधेश प्रदेश तथा लुम्बिनी प्रदेश शीर्षस्थानमा उक्लिने लक्ष्यमा रहेका छन् ।
शुक्रबार लुम्बिनी र मधेश प्रदेशबीचको खेल जनकपुरस्थित रामजानकी क्रिकेट मैदानमा हुदैछ । दुवै टोलीको यो तेस्रो खेल हो । दुवै टोली समान ३ अंकमा रहेका छन् । पहिलो खेलमा अंक बाडेका दुवै टोलीले दोस्रो खेलमा भने जित हात पारेका थिए ।
पहिलो खेल वर्षाका कारण रद्ध भएपछि कर्णाली प्रदेशसँग अंक बाडेको लुम्बिनीले दोस्रो खेलमा कोशीलाई पराजित गरेको थियो । मधेशविरुद्धको खेलमा जित निकाल्दै लुम्बिनी शीर्ष स्थानमा उक्लने लक्ष्यमा छ ।
मधेश भने खेलेको २ खेलमा ३ अंकका साथ तालिकाको चौथो स्थानमा छ । कोशी प्रदेशसँगको पहिलो खेलमा अंक बाडेको मधेशले दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको थियो ।
शुक्रबारै हुने अर्को खेलमा पहिलो जितको खोजीमा रहेको कोशीले सुदूरपश्चिम प्रदेशको सामना गर्दैछ । विरगञ्जमा रहेको टिबी साह क्रिकेट मैदानमा हुने खेलमा दुवै टोली जितका साथ अघि बढ्ने लक्ष्यमा छन् ।
चौथो खेल खेल्दै गरेको कोशी पहिलो खेलमा बर्षाका कारण मधेशसँग बाडेको १ अंकका साथ तालिकाको पुछारबाट दोस्रो स्थानमा छ । पहिलो खेलमा कर्णालीमाथि जित हात पारेको सुदूर दोस्रो खेलमा मधेशसँग पराजित हुदै २ अंकका साथ आठौं स्थानमा छ ।
शुक्रबारका दुवै खेल बिहान ९ बजेपछि सुरु हुनेछ । प्रतियोगितामा ३ विभागीय (नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब) र ७ प्रदेश (कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदरपश्चिम) का गरि जम्मा १० टोलीको सहभागीता रहन्छ ।
२८ दिनसम्म चल्ने प्रतियोगितामा फाइनल सहित ४६ खेल आयोजना हुदैछ । लिग चरणमा सबै टोलीले एक आपससँग खेले पछि शीर्ष २ मा रहने टोलीका बीचमा फाइनल खेल हुनेछ ।
प्रतियोगिताको विजेताले नगद १० लाख पाउँदा उपविजेताले ५ लाख प्राप्त गर्नेछन् ।
यसपटकको प्रतियोगिता काठमाडौंका २ तथा मधेश प्रदेशका २ क्रिकेट मैदानमा हुदैछन् । काठमाडौंको माथिल्लो र तल्लो मुलपानी क्रिकेट मैदानमा समान ५ तथा फाइनल सहितका अन्य खेलहरु मधेश प्रदेशको पर्सा र जनकपुरमा हुदैछ ।
