काठमाडौं । थन्डरबोल्ट नर्थ युनाइटेडमाथि १-० को संघर्षपूर्ण जित हासिल गर्दै मनाङ मर्स्याङ्दी क्लब २५औं संस्करणको आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार पोखरा रंगशालामा भएको तेस्रो क्वार्टरफाइनलमा मनाङलाई जित दिलाउन आशिष श्रेष्ठले अतिरिक्त समयको पहिलो हाफमा निर्णायक गोल गरे । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलमा १५/१५ मिनेटको अतिरिक्त दुई हाफ थपिएको थियो । आशिषले १०५+(१) मिनेटमा गोल गरेका थिए ।
प्रतियोगितामा जावलाखेल युवा क्लब र आयोजक साहरा क्लब पोखराले सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।
अब सेमिफाइनलमा मनाङले बुधबार साहरा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । जावलाखेलले प्लानिङ ब्वाइज युनाइटेड र आभा फुटबल क्लब, उजेकिस्तानबीच हुने क्वाटरफाइनल विजेतासँग दोस्रो सेमिफाइनल खेल्नेछ । प्लानिङ ब्वाइज र आभाबीच चौथो क्वार्टरफाइनल भोलि हुनेछ ।
१२ टिमले भाग लिएको प्रतियोगितामा विजेताले १४ लाख र उपविजेताले ७ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
व्यक्तिगत विधातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई टेलजी इलेक्ट्रिक स्कुटर प्रदान गरिनेछ ।
उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्ड, स्ट्राइकर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
