पोखरा । चर्च ब्वाइज युनाइटेडलाई ३-० गोलअन्तरले पराजित गर्दै जावलाखेल युथ क्लबले २५औं संस्करणको आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार पोखरा रंगशालामा भएको दोस्रो क्वाटरफाइनलमा जावलाखेलले दोस्रो हाफमा खाता खोल्दै फराकिलो गोलअन्तरका साथ अन्तिम चारमा प्रवेश पाएको हो ।
खेलको ४८ औं मिनेटमा जावलाखेलका लागि धमेन्द्र कुँवरले गोल गर्न सफल भए । ८८ औं मिनेटमा विदेशी खेलाडी निकोलस ओदाने हमिल्टनले गोल गर्दै गोलअन्तरले दोब्बर पारे । जित सुनिश्चित गरिसकेको जावलाखेलका लागि दोस्रो हाफको इन्जुरी टाइममा सुजन गुरुङले गोल थपेका हुन् । हारपछि चर्च ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठले खेलाडी थकित भएकाले राम्रो प्रदर्शन गर्न नसकेको स्वीकार गरे ।
प्रतियोगितामा हमिल्टन प्लेयर अफ दि म्याच घोषित भए । उनले पुरस्कारस्वरुप नगद १० हजार र ट्रफी हात पारेका छन् ।
जावलाखेलले अब प्लानिङ ब्वाइज युनाइटेड र आभा फुटबल क्लब, उजेकिस्तानबीच हुने क्वाटरफाइनल विजेतासँग दोस्रो सेमिफाइनल खेल सुनिश्चित गरेको छ ।
आयोजक सहारा क्लब पोखराका अनुसार सोमबार मनाङ मस्र्याङ्दी क्लब र थन्डरबोल्ट नर्थ युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।
यसअघि, आयोजक सहारा क्लब पोखरा विभागीय नेपाल पुलिस फुटबल क्लबलाई सडन डेथको शिकार बनाउँदै जारी संस्करणको सेमिफाइनलमा पुगिसकेको छ ।
१२ टिमले भाग लिएको प्रतियोगितामा विजेताले १४ लाख र उपविजेताले ७ लाख रुपैयाँ प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई टेलजी इलेक्ट्रिक स्कुटर प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्ड, स्ट्राइकर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
