काठमाडौं । अन्तिम समयमा तीन गोलका साथ नाटकीय क्लाइमेक्स पाएको खेलमा बुधबार इक्वेस्ट्रियल गुएनालाई २–१ को नतिजामा निराश पार्दै बुर्किना फासोले मोरक्कोमा जारी ३५ औं अफ्रिका कप अफ नेशन्समा विजयी सुरुआत गरेको छ ।
समूह ‘इ’ को पहिलो खेलमा निर्धारित समय सकिन चार मिनेट बाँकी रहँदासम्म दुवै तर्फबाट एउटै गोल भएको थिएन । १० जनामा सीमित इक्वेस्ट्रियल गुएनाका लागि ८६ औं मिनेटमा मार्भिन एनिबोहले अग्रता दिलाएका थिए । कार्लोस अकापोको पासमा उनले गोल गरेका थिए ।
त्यसअघि ५० औं मिनेटमा बुर्किना फासोका ब्रेटरान्ड ट्राओरेमाथि खराब फाउल गरेवापत इक्वेस्ट्रियल गुएनाका बासिलियो एनडोङले रातो कार्ड सामना गरेका थिए । रेफ्रीले भिडियो सहायक रेफ्री (भिएआर) को सहयोगमा एनडोङलाई रातो कार्ड देखाएपछि बाँकी समय इक्वेस्ट्रियल गुएनाले १० खेलाडीमा सीमित भएर खेलेको थियो ।
विपक्षी टोली १० जनामा सीमित हुँदाको ‘न्युमेरिकल एडभान्टेज’का बावजुद विपक्षी पोष्टमा प्रभावकारी नदेखिएको बुर्किना फासोका लागि जर्जी मिनोउन्गुले इन्ज्युरी समयको छैटौं मिनेटमा बराबरी गोल गरेका थिए । उनले डांगो क्वाटाराको पासलाई गोलको दिशा दिएका थिए ।
इन्ज्युरी समय नै १० मिनेट थपिएको खेलमा बराबरी गोल गरेको तीन मिनेटपछि एडमण्ड टाप्सोबाले विजयी गोल गर्दै समूह ‘इ’ मा बुर्किना फासोलाई स्पष्ट तीन अंक दिलाए ।
अफ्रिकी फुटबलको सबभन्दा ठूलो प्रतियोगिताअन्तर्गत समूह ‘इ’ को अर्को खेलमा आजै राति ढिलोगरी अल्जेरिया र सुडानबीच प्रतिस्पर्धा हुनेछ भने समूह ‘एफ’मा आजै राती आइभोरी कोस्टले मोजाम्बिक तथा क्यामरुनले गाबोनसँग खेल्नेछन् ।
