काठमाडौं । नेपाल पुलिस क्लबको महिला तथा पुरुष भलिबल टिमका लागि नेपाल प्रहरी र रुप्से स्पोर्टस म्यानेजमेन्ट प्रालिबीच प्रायोजन सम्झौता भएको छ ।
पुलिसका महिला र पुरुष दुवै टिमको व्यवस्थापन, प्रशिक्षण, ब्राण्डिङ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता र त्यसको तयारीलाई थप व्यवस्थित बनाउन रुप्सेसँग नेपाल प्रहरी खेलकुद समितिले पाँच वर्षे सम्झौता गरेको जनाइएको छ ।
रुप्सेसँगको प्रायोजन सम्झौताले पुलिसको महिला तथा पुरुष भलिबल टिमको समग्र विकासमा महत्वपूर्ण योगदान पुग्ने नेपाल पुलिस क्लबले विश्वास व्यक्त गरेको छ ।
सम्झौता कार्यक्रममा नेपाल प्रहरी खेलकुद समितिको तर्फबाट नेपाल प्रहरी खेलकुद समितिका सदस्यसचिव प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धीविक्रम शाह र रुप्से स्पोर्टस म्यानेजमेन्टका तर्फबाट प्रवन्ध निर्देशक रमेश पराजुलीले हस्ताक्षर गरेका थिए ।
