काठमाडौं । एएफसी महिला यु-१७ एसियन कप छनोटको दोस्रो खेलमा नेपालले शुक्रबार घरेलु टोली थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । चोनबुरी रंगशालामा खेल नेपाली समयअनुसार ५ः१५ बजे हुनेछ ।
बुधबार नेपालले आफ्नो पहिलो खेलमा तुर्किमिनिस्तानसँग बराबरी खेलेको थियो । हिलाम्मे मैदानमा नेपालले आधा दर्जनभन्दा बढी अवसर सृजना गरेपनि निर्णायक गोल गर्न चुक्यो ।
एसियन कपका पछिल्ला ९ वटै संस्करणमा छनोट भएको थाइल्यान्डलाई हराए नेपालले ऐतिहासिक सफलता हासिल गर्नेछ । पहिलो खेलमा तुर्किमिनिस्तानको पोस्टमा १७ गोल गरेको थाइल्यान्डलाई बराबरीको नतिजा फाइनल प्रतियोगिताको ढोका खोल्न पर्याप्त हुनेछ ।
तुर्किमिनिस्तानविरुद्ध थाइल्यान्डका सात खेलाडीले ‘स्कोरसीट’मा आफ्नो नाम लेखाएका थिए । पहिलो हाफमा ९ गोल गरेको थाइल्यान्डले दोस्रो हाफमा ८ गोल थपेको थियो । अहिलेसम्म छनोट चरण पार गर्न नसकेको नेपालका लागि सेन्टरब्याक अलिजा कुमारी बिक र मिनमाया श्रेष्ठमाथि थाइल्यान्डको आक्रमण रोक्न ठूलो जिम्मेवारी रहनेछ । त्यस्तै पछिल्लो खेलमा ‘टेस्ट’ नभएकी गोलकिपर भरना डुम्राकोटी आज थाइल्यान्डको आक्रमण रोक्न व्यस्त हुने अनुमान गर्न सकिन्छ ।

तुर्किमिनिस्तानविरुद्धको खेलपछि नेपालका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले खेलाडी थकित भएको तर्क गरेका थिए । थाइल्यान्डविरुद्ध आवश्यक तयारी गरेर मैदानमा प्रस्तुत हुने उनले बताएका थिए ।
‘खेलाडी गोल गर्न हतार भएको जस्तो देखियो । पानीले गर्दा गाह्रो पनि भयो । खेलाडी थकित देखिए,’ श्रेष्ठले भने, ‘थाइल्यान्डविरुद्ध रक्षात्मक शैलीमा प्रस्तुत हुनेछौं । काउन्टर आक्रमणलाई सदुपयोग गर्ने योजना छ ।’
तुर्किमिनिस्तानविरुद्ध ४-४-२ फर्मेशनमा उत्रिएको नेपाल थाइल्यान्डविरुद्ध ५-४-१ मा प्रस्तुत हुने अनुमान गर्न सकिन्छ । यदि यसो हो भने पहिलो खेलमा बेन्चमा सीमित भएकी रक्षक अन्सु बिकले मौका पाउने अनुमान गर्न सकिन्छ । फरवार्डमा श्रेष्ठले यमकुमारी बिक र अनिता रानमागरमध्ये कसलाई विश्वास गर्नेछन्, त्यो मूल जिज्ञासाको विषय हो ।
समूहको शीर्ष स्थानमा रहने टोलीले अर्को वर्ष चीनमा हुने एसियन कपमा स्थान बनाउने छ ।