काठमाडौं । फ्रिडम फाइटर ‘बी’ ले पाँचौं वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
काठमाडौं महानगरपालिका वडा-७ को आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनलमा फ्रिडम ‘बी’ ले चाबहिल स्पोर्टस क्लब ‘ए’ लाई १-० ले निरास बनायो । कन्या गुरुङले गरेको एकमात्र गोल खेलमा निर्णायक बन्यो ।
विजेता फ्रिडमले १ लाख तथा चाबहिलले ५० हजार रुपैयाँ प्राप्त गरे ।
विजेता टोलीका कन्या प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी चुनिए । रोशज शाही उत्कृष्ट खेलाडी, सचिन श्रेष्ठ उत्कृष्ट गोलकिपर सगुन श्रेष्ठ उत्कृष्ट रक्षक चुनिए । तीनै चाबहिल ‘ए’ का हुन् । उत्कृष्ट चारैलाई जनही ५ हजार रुपैयाँ प्रदान गरियो ।
विजेतालाई अखिल नेपाल फुटबल संघका उपाध्यक्ष विराटजंग शाही, आयोजक वडाका अध्यक्ष विमलकुमार होडा, वडा सदस्य एवं प्रतियोगिता संयोजक सुरेश शाहीलगायतले पुरस्कृत गरे ।
असोज २५ गतेदेखि सुरु भएको सिक्स ‘ए’ साइड प्रतियोगितामा २० टिम सहभागी थिए ।