काठमाडौं । आइसीसी टी-२० विश्वकप एसिया एन्ड इस्ट एसिया प्यासिफिक छनोटको आफ्नो अन्तिम खेलमा सामोओको सामना गर्दा नेपालको लक्ष्य अपराजित रहँदै च्याम्पियन बन्नु हुनेछ ।
खेल ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-१ मा नेपाली समय अनुसार दिउँसाे ४ः१५ मा सुरु हुनेछ ।
प्रतियोगितामा नेपालले लगातार पाँच जित दर्ता गरेको छ । समूह चरणमा कुवेत र जापानलाई हराएको नेपालले सुपर सिक्समा युएई, कतार र ओमानविरुद्ध जित निकालेको थियो ।
विश्वकपमा स्थान पक्का गरिसकेको नेपाल सामाेओविरुद्ध पनि जितको लयलाई कायम राख्ने सोचमा छ । ने
रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाललाई कुशल भुर्तेल, आसिफ शेख, सोमपाल कामी, नन्दन यादवजस्ता खेलाडीको साथ रहने छ ।
ओमानविरुद्धको पछिल्लो खेलमा कुशलले ६९ रन प्रहार गर्दा सोमपालले दुई विकेट लिएका थिए ।
यता सामोओ पनि नेपाललाई स्तब्ध बनाउँदै जितका साथ प्रतियोगिताको अन्त्य गर्न चहान्छ ।
सामोओले सुपर सिक्समा भने जित निकाल्न सकेको छैन । समूह चरणमा ओमानसँग हार बेहोरेको सामोआले पपुवा न्यु गिनी (पिएनजी) लाई पराजित गरेको थियो । यस्तै टोलीले सुपर सिक्समा जापान, कतार, युएईसँगको खेल गुमाएको थियो ।
क्यालेब जस्मतको कप्तानीमा रहेको सामोओ बेन्जामिन मैलाता, सोलोमन नाश, रोस टेलरजस्ता खेलाडीका साथ मैदान उत्रिनेछ ।
युएईविरुद्धको पछिल्लो खेलमा मैलाताले ३९ रन बनाउँदा नाशले दुई विमेट लिएका थिए ।
टी-२० अन्तर्राष्ट्रियमा नेपाल र सामोओ पहिलो पटक प्रतिस्पर्धा गर्दैछन् ।