काठमाडौं । नेपाली फुटबलको सर्वोच्च निकाय एन्फाले प्रत्येक वर्ष हुनुपर्ने सबै डिभिजनका लिगको चक्र तीन वर्ष लगाएर पूरा गरेको धेरै भएको छैन । सहिद स्मारक ‘ए’ डिभिजन लिग नभएको २८ महिना भइसक्यो । सामाजिक सञ्जालमा शीर्ष डिभिजनको लिग गर्न नसकेका कारण एन्फाको उछितो काट्ने क्रम नेपालभित्र फेसबुकलगायतका केही प्लेटफर्म बन्द गरिएकाले नदेखिएको मात्र हो । जारी छ ।
नेपाली फुटबलको घरका रूपमा सर्वस्वीकार्य दशरथ रंगशालाले अन्तर्राष्ट्रिय खेल गराउने हैसियत गुमाएको पनि लामो समय भइसक्यो । आफ्ना गुटगत स्वार्थका लागि ख्यालख्यालैमा एक पटक अयोग्य बनाइएको रंगशालाको हैसियत फर्काउन एन्फा र नेपाली खेलकुदको प्रशासन सफल भइरहेको छैन वा चाहिरहेको छैन । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी)ले एकपटक अयोग्य घोषणा गरिसकेको दशरथ रंगशालालाई फेरि अन्तर्राष्ट्रिय खेल गराउन लायक मानिरहेका छैनन् ।
एएफसीले त पटक-पटकको अनुरोधका बावजुद रंगशालाको स्थिति सुधारमा एन्फा उदासीन भएकाले तत्काल आधिकारिक अन्तर्राष्ट्रिय खेल गराउने अनुमति दिन नसकिने प्रस्ट पारिसकेको छ । एकमात्र अन्तर्राष्ट्रिय रंगशालालाई अयोग्य ‘बनाइए’पछि अब पनि नेपाल फिफा र एएफसीको आधिकारिक खेल आयोजनाका लागि असमर्थ नै छ । यही असमर्थताका कारण नेपालले आफ्नो हक लाग्ने घरेलु खेल पनि विपक्षीको मैदान वा तटस्थ भूमिमा खेल्नुपरिरहेको छ । नतिजा त्यही रूपमा प्रभावित भइरहेका छन् ।
एन्फाले दुई वर्षदेखि रोकिएको शीर्ष डिभिजनको लिग पुनः सुचारु गर्ने घोषणा गरेको छ ।
कुनै समय नेपालको सबैभन्दा लोकप्रिय खेल थियो, फुटबल । तर घरेलु फुटबलको बेथितिसँगै भएको एकमात्र रंगशालाको अवस्था समेत बिजोग भएपछि फुटबल पुरानो लोकप्रियताभन्दा धेरै टाढा पुगिसकेको छ । फुटबलप्रेमीहरू एन्फासँग क्रुद्ध छन् । नेपाली फुटबलमा भविष्य नदेखेर मात्र होइन, खेल्न समेत नपाएर विदेसिएका खेलाडीको लर्कोले सरोकारवालालाई थप निरास पारिरहेको छ । त्यसको सबै प्रतिक्रिया सामाजिक सञ्जालमार्फत पोखिनु स्वभाविक थियो । अनि जवाफदेहिताको मामिलामा आफूलाई अचेतझै प्रस्तुत गरिरहेको एन्फाले आफ्नो फेसबुक पेजको कमेन्ट बक्स अफ गर्नु पनि अस्वभाविक थिएन । सरकारको फेसबुकलगायतका सामाजिक सञ्जाल बन्द गर्ने निर्णयबाट यसकारण एन्फालाई थोरै भए पनि राहत मिलेको हुनुपर्छ ।

सामाजिक सञ्जाल सधैंका लागि पक्कै पनि बन्द भएको होइन । यदि अहिले बन्द भएका प्लेटफर्महरू कहिल्यै खुलेनन् भने पनि प्रविधिको युगमा अरू थुप्रै विकल्प नेपाली प्रयोगकर्ताको पहुँचमा आउनेछन् । फुटबल प्रशासन नसुध्रने हो भने फेरि अहिले फेसबुकका भित्तामा आउने गाली अन्य प्लेटफर्मबाट आउनेछ । यसकारण सरकारको निर्णय एन्फालाई राहत दिने स्थायी समाधान होइन । स्थायी समाधान त आफ्नै कार्यशैलीमा सुधार गर्नु मात्र हो । त्यो पनि सामान्य सुधार होइन, खेलाडी, प्रशिक्षक, रेफ्री, पदाधिकारी, क्लब, समर्थकलगायतका सबै सरोकारवालाले तत्काल अनुभूत गर्न सक्नेखालको प्रभावकारी र प्रतिबद्ध प्रयासले मात्र एन्फा नेतृत्वलाई साँचो अर्थमा स्थायी राहत प्रदान गर्नेछ ।
सामाजिक सञ्जाल पूर्ण रूपमा फेरि नखुलेसम्म एन्फालाई केही सकारात्मक बन्न र फुटबलप्रेमीको मन जित्न राम्रो अवसर दिएको छ । यही समयमा एन्फाले फेरि फुटबलको लोकप्रियता फर्काउँदै आफूविरुद्ध उठेका आवाजलाई मत्थर पार्न सक्नेछ । एन्फाले दुई वर्षदेखि रोकिएको शीर्ष डिभिजनको लिग पुनः सुचारु गर्ने घोषणा गरेको छ । त्यो पनि नेपालमा परम्परागत रूपमा हुँदै आएजस्तो ‘सेन्ट्रल भेन्यु’मा नभई फुटबलको साँचो मर्मअनुसार ‘होम एण्ड अवे’ पद्दति अर्थात प्रतिस्पर्धीले आफ्नो मैदानमा सबै विपक्षीसँग र सबै विपक्षीको मैदानमा खेल्न पाउने गरी लिग गर्ने एन्फाको प्रस्ताव छ ।
शीर्ष डिभिजनका सबै १४ क्लब काठमाडौं उपत्यकाभित्रका छन् । उपत्यकामा भएको एउटै दशरथ रंगशाला मैदान अयोग्य घोषित भइसकेको छ ।
वास्तवमै फुटबलमा आफ्नो घर र विपक्षीको मैदानमा गएर खेल्नुको महत्व खास हुन्छ । घरेलु मैदानमा खेल्न पाउँदा त्यहाँको पूरा वातावरण, आफ्नो मैदान र दर्शकको साथ लगायतले नतिजा पक्षमा पार्न सकिने सम्भावना धेरै हुन्छ । फुटबलको यति सामान्य कुरा लामो समयदेखि आफ्नो खेल विदेशीको मैदानमा खेलाउँदै आएको एन्फाले जति कसले बुझेको होला र ? यही कारण नेपाललाई घरेलु मैदानको फाइदाबाट वञ्चित गरे पनि क्लबहरूलाई भने घरेलु मैदानमा खेल्ने अवसर दिने एन्फाको योजना पक्कै प्रशंसनीय छ ।
तर योजनाहरू बनाउँदा र प्रस्तावहरू गर्दा त्यसको व्यवहारिक पक्ष ख्याल गर्नुपर्छ । जसमा एन्फा नेतृत्वको ध्यान पुगेजस्तो देखिन्न । शीर्ष डिभिजनका सबै १४ क्लब काठमाडौं उपत्यकाभित्रका छन् । उपत्यकामा भएको एउटै दशरथ रंगशाला मैदान अयोग्य घोषित भइसकेको छ । एन्फाले जबरजस्ती केही मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल र घरेलु खेल गराए पनि उसैले अयोग्य भनिरहँदासम्म यसलाई योग्य मान्न सकिन्न । आधिकारिक अन्तर्राष्ट्रिय खेलका लागि रंगशाला अयोग्य हो भने त्यो आमन्त्रण अन्तर्राष्ट्रिय र घरेलु खेलका लागि पनि अयोग्य नै हुन्छ । दुर्घटना जुन खेलमा भए पनि त्यसको मूल्य चुकाउनुपर्ने खेलाडी, प्रशिक्षक, रेफ्री, टिम, समर्थक र फुटबलका सरोकारवालाले नै हो । यसकारण अयोग्य रंगशालामा जबरजस्ती खेल गराएर दम्भ देखाउनुको साटो सबैभन्दा पहिला आलोचनासँग नडराइकन त्यसलाई योग्य बनाउनतिर लाग्नुपर्छ । अनि शीर्ष डिभिजन लिगका लागि प्रस्ताव गरिएका रंगशालाहरूको अवस्था पनि उसैगरी खेल्न योग्य बनाउनुपर्छ ।
एन्फाले शीर्ष डिभिजन लिगका लागि उपत्यकाका तीनसहित विभिन्न १२ जिल्लाका १७ मैदानको प्रस्ताव गरेको छ । तर दशरथ रंगशालाकै हविगत विदेशीले नपत्याउने हुँदा अन्य रंगशालाको हालत के होला ? एन्फाले प्रस्ताव गरेकै रंगशालामा भएका विभिन्न घरेलु प्रतियोगिता दौरान मैदानको दुरावस्था, टिठलाग्दा प्यारापिटलगायतका संरचना देखिएकै थिए । यसकारण तत्काल ती कुनै पनि रंगशाला स्तरीय फुटबल गराउन योग्य छैनन् भनेर ठोकुवा गर्न सकिन्छ । कम्तीमा एन्फाकै मातृसंस्था एएफसी र फिफाको नजरमा त ती मैदानहरू अभ्यास गर्न पनि लायक छैनन् ।

देशभित्र आफ्नो स्वार्थको डम्फु बजाउनुपरे फिफा र एएफसीको धाक जमाउने बानी लागेको एन्फाले फुटबल खेलाउने विषयमा पनि फिफा र एएफसीले तोकेको मापदण्ड पालना गर्नैपर्छ । जबरजस्ती नै गरिरहने हो भने देशभित्र यो खेल र यसको नेतृत्वको अवस्था थप निम्छरो हुने नै छ । जसरी फुटबल लज अफ दी गेम्स (फुटबलको नियम) विपरीत सम्भव हुन्न । उसैगरी त्यही नियम बनाउने संस्थाले तयार गरेको मापदण्डको आधारभन्दा तल गएर गर्ने छुट पनि हुँदैन ।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको कुरा गर्ने हो भने फुटबल राष्ट्रिय स्वाभिमानका लागि खेलिन्छ । तर यहाँ त एउटा योग्य रंगशालासमेत नभएको भनेर देशकै स्वाभिमानमाथि प्रहार भइरहेको छ ।
कम्तीमा राष्ट्रिय टिम खेल्ने र शीर्ष डिभिजनको फुटबललाई चाहिँ एउटा निश्चित स्तरको संरचना हुनै पर्छ । नेपालमा रातारात वेम्बली वा माराकाना बनाउनुपर्छ भन्न खोजिएको होइन । तर आधारभूत सुविधा चाहिँ फुटबल गराउने ठाउँमा हुनै पर्छ । फिफाले भनेजस्तै मैदानको सतह र घाँस खेल्न लायक हुनुपर्छ । खेलाडीको चोट न्युनिकरण गर्न मैदान धेरै कडा हुनुहुन्न । खेलका लागि रंगशाला पुग्ने खेलाडी, प्रशिक्षक, रेफ्रीदेखि दर्शकसम्म सबै सुरक्षित रूपमा आउजाउ गर्न सक्ने सहज र बलिया संरचना हुनुपर्छ । घरेलु र अवे दर्शक बस्ने छुट्टै ठाउँको व्यवस्था प्यारापिटमा हुनुपर्छ ।
दशरथ रंगशालामा यिनै आधारभूत आवश्यकता नभएका कारण फिफा र एएफसीले अयोग्य घोषणा गरेको हो । कुनै मानवीय वा प्राकृतिक विपत्ति नभए पनि आफ्नै घरेलु मैदान नहुने विश्वकै एकमात्र देशका रूपमा नेपाललाई दर्ज गरिएको कारण यही हो ।
यहाँ फुटबल भयो कि भएन भन्नेमात्र विषय होइन । कसरी भयो र कुन नियतले भयो भन्ने कुरा महत्त्वपूर्ण हो । अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको कुरा गर्ने हो भने फुटबल राष्ट्रिय स्वाभिमानका लागि खेलिन्छ । तर यहाँ त एउटा योग्य रंगशालासमेत नभएको भनेर देशकै स्वाभिमानमाथि प्रहार भइरहेको छ । त्यसलाई ठिक गर्नेतिर ध्यान दिनुको साटो शीर्ष डिभिजनको लिगका लागि झनै गौचरणजस्ता मैदान प्रस्ताव गरेर ‘होम एण्ड अवे’को शब्दावली फुक्न थालिएको छ । जुन ‘गफ’भन्दा बढी सुनिन्न ।
लामो समयदेखि रोकिएको लिग गर्न ‘होम एन्ड अवे’को अवधारणा ल्याउने क्रममा एन्फाले पर्याप्त गृहकार्य गरेको देखिँदैन ।
एन्फा नेतृत्वले यी कुरा नबुझेको होइन । त्यसकारण दुई वर्षपछि लिग गर्दा कम्तीमा एउटा स्तरको मैदान र रंगशालामा गराउनेतिर ध्यान केन्द्रित गर्नुपर्छ । सरकारले सामाजिक सञ्जाल बन्द गरेर आलोचनाबाट बच्न दिएको समयलाई अवसरमा प्रयोग गर्दै त्यही अवधिमा प्रस्ताव गरेका सबै रंगशाला देख्नेबित्तिकै फुटबलकर्मीको खुट्टा चिलाउने खालको बनाउन भ्याइसक्नुपर्छ । त्यसो भए फेरि फेसबुक खुल्दा वा त्यसको विकल्पका रूपमा अर्को प्लेटफर्म स्थापित हुने बेलासम्म एन्फासँग पोस्ट गर्न पदाधिकारीले दिनदिनै ङिच्च हाँस्दै नियुक्तिको प्रमाणपत्र बाँडिरहेको फोटोमात्र होइन, साँच्चै नेपाली फुटबलमा गरेका लोभलाग्दा कामका दृश्यहरू हुनेछ । अनि अहिले आलोचनाका लागि खुल्ने मुखबाट स्वतस्फूर्त रूपमा प्रशंसाका शब्दहरू निस्कन थाल्नेछन् ।

तर त्यसका लागि पनि सहभागी क्लबहरूसँग पर्याप्त छलफलपछि मात्र निष्कर्षमा पुग्नुपर्छ । लिग फुटबलको मुख्य सरोकारवाला भनेकै क्लब हुन् । यसकारण उनीहरूले स्वामित्व नलिने कुनै पनि निर्णयले फुटबललाई सही गन्तव्यमा पुर्याउँदैन । लामो समयदेखि रोकिएको लिग गर्ने क्रममा ‘होम एन्ड अवे’को अवधारणा ल्याउने क्रममा एन्फाले पर्याप्त गृहकार्य गरेको देखिँदैन । जताततैबाट आलोचित हुनुपरेका बेला मुख्य मुद्दालाई विषयान्तर गर्दै अन्ततः लिग नै नगर्ने दाउजस्तो देखिन्छ । शंका गर्ने ठाउँ थुपै भेटिन्छन् । विगतले पनि त्यही भन्छ ।
पुषमा ‘होम एन्ड अवे’ पद्दतिमा लिग गर्ने प्रस्ताव गर्न गत साता एन्फाले बोलाएको क्लबहरूको बैठकले पनि त्यस्तै भनिरहेको थियो । जहाँ क्लबहरू एन्फाको प्रस्तावमाथि आश्चर्य प्रकट गरिरहेका थिए । शीर्ष डिभिजनको क्लब हिमालयन शेर्पालाई नेतृत्व गरिरहेका एन्फाका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाको प्रतिक्रियाले पनि एन्फाको गृहकार्य अपर्याप्त भएको बताइरहेको थियो । शेर्पा भन्दै थिए, ‘क्लबहरूको होम त क्लबले नै छान्ने हो नि । क्लबले होम छान्ने अनि एन्फाले आवश्यक सहजीकरण गर्ने हो । तर यहाँ त एन्फाले हुकुमी शैलीमा होम एन्ड अवे भन्दै मैदान तोकेको छ ।’
सकारात्मक कुरा के भने कम्तीमा नेपाली फुटबलमा होम एन्ड अवेको बहस सुरु भएको छ । उपत्यका केन्द्रित भनेर आलोचित नेपाली फुटबललाई ‘देशव्यापी’ बनाउने चर्चा हुन थालेको छ ।
हात प्रतिपक्षमा रहेका शेर्पाको भनाइ जस्ताको तस्तै नपत्याए पनि एन्फा स्वयंले ‘यो क्लबलाई, यसकारण, यो मैदान’ भन्न सकेको छैन । एन्फाले प्रारम्भिक प्रस्तावका रूपमा मात्र त्यसलाई प्रस्तुत गरेको छ । तर चार महिनापछि हुने लिगका लागि गाई नै घाइते हुने गौचरणजस्ता मैदानको प्रस्ताव गर्दा क्लबसँग सहमति नै नहुनुले गृहकार्यको कमीको प्रमाण दिन्छ । पर्याप्त गृहकार्य भएको भए यतिबेलासम्म मैदानहरू सम्बन्धित क्लबलाई जिम्मा लगाइसकिएको हुन्थ्यो । अनि, ती मैदानलाई कम्तिमा खेल्न लायक बनाउने काम पनि सुरु भइसकेको हुन्थ्यो । तर यहाँ त अझैसम्म पनि कुन मैदान कस्को भन्ने टुंगो छैन र क्लबहरूसँग सहमति हुने पनि देखिन्न ।
शेर्पाको एउटा भनाइमा चाहिँ दम छ । ‘घर भनेको त्यो हो, जहाँ आफ्नोपन हुन्छ । जहाँका प्रत्येक कुनासँग आफ्ना स्मरण हुन्छन् । मायाप्रेम हुन्छ । समग्रमा घरमा भावना हुन्छ ।’ तर यहाँ उपत्यकाका क्लबलाई कोशी र कर्णाली अनि सुदूरपश्चिममा ‘यही हो तेरो घर’ भन्दा कसरी त्यहाँ भावना होला ? कसरी मायाप्रेम र स्मरणहरू होलान् ? कसरी आफ्नोपन होला ? अनि कसरी ती मैदान सम्बन्धित क्लबले स्याहार गर्लान् ?
यस्ता विषयमा एन्फा चुकेकै देखिन्छ । तथापि यो प्रारम्भिक चरणमात्र हो । सकारात्मक कुरा के भने कम्तीमा नेपाली फुटबलमा होम एन्ड अवेको बहस सुरु भएको छ । उपत्यका केन्द्रित भनेर आलोचित नेपाली फुटबललाई ‘देशव्यापी’ बनाउने चर्चा हुन थालेको छ । विकल्पहरु खोजिन थालेका छन् । अब यसलाई साँच्चै यथार्थमा परिणत गर्न सबै सरोकारवाला इमान्दार र प्रतिबद्ध भएर लाग्नुपर्छ । त्यसो भयो भने यही वर्ष ‘सेन्ट्रल भेन्यु’मै भए पनि आगामी दिनमा नेपाली फुटबल स्थायी रूपमै ‘होम एन्ड अवे’ चरणमा प्रवेश गर्नेछ । साँचो अर्थमा फुटबल विकेन्द्रित हुनेछ ।

त्यसका लागि सबैभन्दा इमान्दार र प्रतिबद्ध चाहिँ एन्फा नेतृत्व नै हुनुपर्नेछ । नेतृत्वले पहिला शासकीय दम्भ छोडेर लचिलो हुन सिक्नुपर्छ । मुख्य सरोकारवाला क्लबसँगको सम्बन्ध सुमधुर बनाउनुपर्छ । एउटा दीर्घकालीन सोचसहितको सहमति गर्नुपर्छ । क्लब आफैले आफ्नो भावना हुने खालको, मायाप्रेम पाउने खालको, अपनत्वको अनुभूति गर्ने खालको घर खोज्नुपर्छ । अनि त्यो घर सिँगार्न क्लबले के गर्ने, एन्फाले के गर्ने जस्ता विषय टुंग्याउनुपर्छ । त्यसो भयो भने ‘ढिलो आयो, राम्रो आयो’ भनेझै नेपाली फुटबलले ढिलै भए पनि सुखद गन्तव्य पाउनेछ । सर्वत्र आलोचित एन्फा नेतृत्वको जयजयकार हुनेछ ।
नेपालीको फुटबल भावनाको स्तर विश्वस्तरीय छ । फिफाको मापदण्डभन्दा रत्तिभर कम छैन । त्यसमाथि प्रहार नहोस् !
तर विगतका अन्य विषयजस्तै यसलाई पनि फगत एउटा फन्डाका रूपमा मात्र प्रयोग गर्न खोजिएको हो भने यो झन बढी प्रत्युत्पादक हुनेछ । ‘होम एन्ड अवे’को विवाद सिर्जना गरेर क्लबलाई दोष दिँदै कम्तीमा काठमाडौंमा आक्कलझुक्कल भइरहेको लिग यसपालि पनि नगर्ने प्रपञ्च हो भने त्यो माफीलायक हुने छैन ।
रंगशाला अयोग्य बनाएर देशको स्वाभिमानमाथि प्रहार गरिसकेको अवस्थामा थप १३ मैदान ‘स्तरहीन छन्’ भन्ने प्रमाण छरपस्ट पारेर नेपाली फुटबलको वास्तविकता थप नङ्ग्याउनका लागि नभएको अधिकार फुटबल नेतृत्वले प्रयोग गर्न पाउने छैन । फुटबलको स्तर फिफाले सबै तरिकाले बयान गरिदिएको छ । नेपाली फुटबल नेतृत्वको स्तर यहाँ चासोको विषय होइन । तर फुटबल र नेपालीको फुटबल भावनाको स्तर विश्वस्तरीय छ । फिफाको मापदण्डभन्दा रत्तिभर कम छैन । त्यसमाथि प्रहार नहोस् !