काठमाडौं । अस्ट्रेलियाले भारतमा जारी आइसीसी महिला एकदिवसीय विश्वकपमा बिहीबार बंगलादेशविरुद्ध १० विकेटको सानदार जित दर्ता गरेको छ ।
जितसँगै पाँच खेलमा ९ अंक जोेडेको अस्ट्रेलिया शीर्ष स्थानमा छ । पराजित बंगलादेश समान खेलबाट दुई अंकका साथ छैटौं स्थानमा छ ।
विशाखापट्नमस्थित डा. वाइएस राजशेखर रेड्डी एसिए-भिडिसिए क्रिकेट मैदानमा बंगलादेशले प्रस्तुत गरेको १९९ रनको लक्ष्य अस्ट्रेलियाले २५.५ ओभरमा कुनै पनि विकेट नगुमाइ पूरा गर्यो ।
अस्ट्रेलियाका लागि एलिस हेलीले ७७ बलमा २० चौकाको मद्दतले अविजित ११३ रनको योगदान गरिन् । यसैगरी फोबी लिचफिल्डले ७२ बलमा १२ चौका र एक छक्कासहित अविजित ८४ रन बनाइन् ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै १९८ रनको योगफल तयार पारेको थियो ।
बंगलादेशका लागि शोभना मोस्टारी ८० बलमा ९ चौकाको मद्दतले अविजित ६६ रनको योगदान गरिन् । यसैगरी रुवी हैदरले ४४, शर्मिन अख्तरले १९ र कप्तान निगार सुल्तानले १२ रन बनाए ।
अस्ट्रेलियाका लागि एश्लेघ गार्डनर, एनाबेल सदरल्यान्ड, एलना किंग, जर्जिया वेयरह्यामले समान दुई तथा मेगन स्कटले एक विकेट लिए ।