काठमाडौं । फ्रेन्ड्स क्लबले एन्फा यु-१६ युथ लिगमा हिमालयन शेर्पासँग गोलरहित बराबरी खेलेको छ ।
बुधबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सम्पन्न पाँचौं चरणको खेलमा दुबै टोलीले केही राम्रा अवसर सृजना गरे पनि गोल भने गर्न सकेनन् ।
बराबरीसँगै फ्रेन्ड्सले शीर्ष स्थानका दुई टोली मछिन्द्र क्लब र नेपाल पुलिस क्लबसँग अंक दूरी घटाउने अवसर गुमायो । तीन जित, एक हार र एक बराबरीसहित १० अंक जोडेको फ्रेन्ड्स हालका लागि तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पाँच खेलमा १३ अंकका मछिन्द्र शीर्ष स्थानमा छ । त्यस्तै एक खेल कम खेलेको पुलिस १२ अंकसहित दोस्रो स्थानमा छ ।
शेर्पाको यो लगातार दोस्रो बराबरी हो । चौथो चरणको खेलमा शेर्पाले न्युरोड टिम (एनआरटी)सँग ३-३ को रोमाञ्चक बराबरी खेलेको थियो । फ्रेन्ड्ससँगको नतिजासँगै शेर्पाले पनि शीर्ष चारमा उक्लिने अवसर गुमायो । अहिले शेर्पा आठ अंकका साथ छैटौं स्थानमा छ ।
दिनको पहिलो खेलमा साविक विजेता चर्च ब्वाइज युनाइटेडले सातदोबाटो युवा क्लबलाई ९-२ ले हरायो । तालिकाको पुछारमा रहेको सातदोबाटोको यो लगातार पाँचौं हार हो । जितसँगै चर्च ब्वाइज ६ अंक जोड्दै तालिकाको आठौं स्थानमा उक्लियो ।
दिनको तेस्रो खेलमा पुलिस र मनाङ मस्र्याङ्दी क्लबले एकअर्कासँग प्रतिस्पर्धा गरिरहेका छन् ।