काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० महिला च्याम्पियनसिपमा घरेलु टोली बंगलादेशले लगातार तेस्रो खेलमा विजयी हासिल गरेको छ ।
मंगलबार राजधानी ढाकास्थित बसुन्धरा किङ्स अरिनाको अभ्यास मैदानमा सम्पन्न खेलमा बंगलादेशले भुटानमाथि ४–१ को सहज जित हासिल गर्यो ।
पहिलो हाफमा एक गोलको अग्रता बनाएको बंगलादेशले दोस्रो हाफमा तीन गोल थप्यो । बंगलादेशको जितमा मिडफिल्डर शान्ती मार्दीले ह्याट्रिक गरिन् । त्यस्तै एक गोल अर्की मिडफिल्डर मोसम्मत मुन्की अख्तरको नाममा रह्यो । भुटानका लागि मिडफिल्डर संगे याङ्मोले गोल गरिन् ।
अविरल वर्षाका कारण यी दुईबीचका खेल तीन घण्टा रोकिएको थियो । खेलको सुरुआती ३० मिनेट बसुन्धरा किङ्स अरिना रंगशालामा खेलाइएको थियो । तर, वर्षाले मैदाम हिलाम्मे भएपछि खेल मैदान सारिएको हो ।
रंगशालामा शान्ती (मार्दी)ले खेलको सातौं मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाएकी थिइन् । अभ्यास मैदानमा खेलको ५३औं मिनेटमा संगे (याङ्मो)ले भुटानका लागि बराबरी गोल फर्काइन् । चार मिनेटपछि शान्तीको गोलमा बंगलादेशले पुनः अग्रता लियो ।
खेलको ७६औं मिनेटमा मुन्कीले खेललाई ३–१ को अवस्थामा ल्याइन् । तीन मिनेटपछि शान्तीले व्यक्तिगत तेस्रो गोल गरिन् ।
जितसँगै बंगलादेशले उपाधिमा एक पाइला अगाडि सारेको छ । तीन खेलमा स्पष्ट ९ अंक जोडेको बंगलादेशले शीर्ष स्थानमा आफ्नो पकडलाई बलियो बनाएको छ ।
हारसँगै भुटानको उपाधि जित्ने सम्भावना न्युन बनेको छ । भुटानले तीनमध्ये मात्र एक खेलमा जित हासिल गरेको छ ।
दिनको दोस्रो खेलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । खेल बसुन्धरा किङ्स अरिना रंगशालाको अभ्यास मैदानमा ८ः१५ बजे हुनेछ ।
चार टोलीको सहभागिता रहेको प्रतियोगिता डबल राउन्ड रोविन पद्धत्तिमा भइरहेको छ । समूहको शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ । बंगलादेश माथिल्लो उमेर समूहको यो प्रतियोगिताको सर्वाधिक सफल टोली हो । प्रतियोगिताले पाँचौं संस्करण पार गर्दा बंगलादेशले चार पटक उपाधि उचालेको छ ।