काठमाडौं । इङ्लिस क्लब न्युक्यासल युनाइटेडका फरवार्ड एलेक्जेन्डर इसाकलाई अनुबन्ध गर्न महारथी लिभरपुल फुटबल क्लबले चासो व्यक्त गरेको छ ।
प्रिमियर लिग च्याम्पियन लिभरपुल अहिले सेन्ट्रल फरवार्डको खोजीमा छ । उरुग्वेन स्टराइकर डार्विन नुनेजको भविष्य अनिश्चित भएका कारण लिभरपुल नयाँ खेलाडी अनुबन्ध गर्ने बाटोमा लागेको हो । विभिन्न सञ्चार माध्यमका अनुसार नुनेजालाई अनुबन्ध गर्न इटालियन ‘सिरी ए’ च्याम्पियन नापोली लागिपरेको छ ।
लिभरपुलले न्युक्यासललाई इसाकका लागि कुनै पनि औपचारिक प्रस्ताव पेश गरेको छैन । यद्यपि स्विडिश फरवार्ड भित्र्याउन लिभरपुल १२० मिलियन पाउन्ड खर्चिन तयार रहेको बताइएको छ ।
२३ वर्षिय इसाकले न्युक्यासलबाट १०२ खेल खेलेका छन् । उनले ६२ गोल गरेका छन् ।
न्युक्यासलले गत सिजन काराबाओ कपको फाइनलमा लिभरपुललाई २–१ ले हराउँदै ७० वर्षको उपाधि खडेरी अन्त्य गरेको थियो । उक्त खेलमा इसाकले न्युक्यासलका लागि दोस्रो गोल गरेका थिए ।