काठमाडौं । मनाङ मस्र्याङ्दी क्लबले एन्फा यु–१६ युथ लिगमा साविक विजेता चर्च ब्वाइजविरुद्ध ४–३ को रोमाञ्चक जित हासिल गरेको छ ।
सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सम्पन्न दिनको पहिलो खेलमा मनाङको जितमा राम आर्जेलले दुई तथा रोहन थापा मगर र धर्विन्द्र बोहराले समान एक गोल गरे । चर्च ब्वाइजका लागि सुशान थापामगरले दुई गोल गर्दा सुजीत लामाको नाममा एक गोल रह्यो ।
जितसँगै मनाङले आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । चार खेलमा तीन जित र एक बराबरीका साथ १० अंक जोड्दै मनाङ हालका लागि दोस्रो स्थानमा उक्लिएको छ । गोल भिन्नताका आधारमा मछिन्द्र मनाङभन्दा अगाडि छ ।
लिगमा चर्च ब्वाइजको यो तेस्रो हार हो । तीन अंक जोडेको चर्च ब्वाइज १०औं स्थानमा झर्यो ।
दिनको दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र फ्रेन्ड्स क्लबले एकअर्कासँग प्रतिस्पर्धा गरिरहेका छन् ।