काठमाडौं । घानाका मिडफिल्डर टोरिक जेब्रिनले एफसी चितवनबाटै नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् ।
क्लबले एनएसएलको तेस्रो संस्करणका लागि पनि जेब्रिनसँग सम्झौता गरिएको जानकारी दियो । उनले दोस्रो संस्करण चितवनबाटै खेलेका थिए ।
जेब्रिकसँग घाना, इङ्ल्यान्ड, बेल्जियम, इजिप्ट, टर्की, साउदी अरेबिया, माल्दिभ्स र नेपाली क्लबबाट खेलेको अनुभव छ । उनले फ्रेन्ड्स क्लबबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलेका थिए ।
उनी चितवनमा अनुबन्ध हुने छैटौं खेलाडी विदेशी खेलाडी हुन् । यससँगै चितवनको विदेशी खेलाडीको कोटा पूरा भएको छ ।
चितवनले यसअघि अमेरिकाका जोनाथन क्याम्पबेल, उज्वेकिस्तानका नोदिरबेक माभलोनोभ, जमैकाका अमल नाइट, अमेरिकाका भिक्टर मानसारे र नाइजेरियन फरवार्ड युसुफ मलिकलाई भित्र्याएको थियो ।
राष्ट्रिय टोलीका फरवार्ड अञ्जन विष्टलाई मार्की खेलाडी बनाएको चितवनले नवीन न्यौपानेलाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ ।
एनएसएल चैत १६ बाट सुरु हुँदैछ । चितवनले चैत १८ मा पोखरा थन्डर्स एफसीसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
यसपल्ट यी दुईसहित काठमाडौं रेजर्स एफसी, साबिक विजेता ललितपुर सिटी एफसी, झापा एफसी, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी गरि सात टोलीले मात्रै सहभागिता जनाउने छन् ।
आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइए) का अनुसार गत संस्करणमा सहभागिता जनाएका वीरगञ्ज युनाइटेड एफसी र स्पोर्टिङ इलाम डे मेची एफसीले भने नाम फिर्ता लिएका छन् ।