काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज एफसी चितवनले विदेशी खेलाडीका रूपमा नाइजेरियन फरवार्ड युसुफ मलिकलाई अनुबन्ध गरेको छ । क्लबले एनएसएलको तेस्रो संस्करणका लागि मलिकसँग सम्झौता गरेको हो ।
मलिक पछिल्लो समय नेपालमै फुटबल खेलिरहेका छन् । उनले मछिन्द्र फुटबल क्लबबाट मोफसलका विभिन्न प्रतियोगितामा सहभागिता जनाइरहेका छन् ।
उनी चितवनमा अनुबन्ध हुने पाँचौं खेलाडी विदेशी खेलाडी हुन् । चितवनले यसअघि अमेरिकाका जोनाथन क्याम्पबेल, उज्वेकिस्तानका नोदिरबेक माभलोनोभ, जमैकाका अमल नाइट र अमेरिकाका भिक्टर मानसारेलाई भित्र्याएको थियो ।
राष्ट्रिय टोलीका फरवार्ड अञ्जन विष्टलाई मार्की खेलाडी बनाएको चितवनले नवीन न्यौपानेलाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ ।
एनएसएल चैत १६ बाट सुरु हुँदैछ । चितवनले चैत १८ मा पोखरा थन्डर्स एफसीसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
यसपल्ट यी दुईसहित काठमाडौं रेजर्स एफसी, साबिक विजेता ललितपुर सिटी एफसी, झापा एफसी, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी गरि सात टोलीले मात्रै सहभागिता जनाउने छन् ।
आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइए) का अनुसार गत संस्करणमा सहभागिता जनाएका वीरगञ्ज युनाइटेड एफसी र स्पोर्टिङ इलाम डे मेची एफसीले भने नाम फिर्ता लिएका छन् ।