काठमाडौं । स्याङ्जा वालिङकी चेली मनमाया दमाईले भर्खरै सम्पन्न अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको अन्तिम टोलीमा जब आफ्नो नाम पाइन् । उनी भावबिह्वल भइन् । उनी आफैले पत्तो नपाउँदै खुसीका आँसु भलभली बगे ।
‘यसपाली पनि अन्तिम टोलीमा पर्दिन कि जस्तो लागेको थियो । मनमा अनेकौं कुराहरु खेलिरहेका थिए । त्यसैले बन्द प्रशिक्षणका दौरान निन्द्रा लाग्दैनथ्यो,’ मनमाया खुसी व्यक्त गर्छिन्, ‘नाम सुन्ने बित्तिकै आँसु झर्यो । अनि तुरुन्तै घरमा विरामी आमालाई फोन लगाएँ । आमाले फुटबलको बारेमा बुझ्नु हुन्न । आमा ! मेरो नाम आयो नि भन्दा सुरुमा उहाँले भगवानलाई धन्यवाद दिनुभयो ।’
‘म बन्द प्रशिक्षणमा पर्ने अनि फ्याकिने भइरहेको थिएँ । साफ च्याम्पियनसिपमा त बन्द प्रशिक्षणमा पनि परिन । साह्रै चित्त दुखेको थियो । यसपालि मैले प्रशिक्षणका दौरान सय प्रतिशत दिएँ,’ मनमाया सुनाउँछिन् ।
लेफ्ट ब्याक मनमाया पहिलो पटक सिनियर टोलीको जर्सी लगाएर देशको प्रतिनिधित्व गर्ने प्रतीक्षामा थिइन् । तर, उनले डेब्यूको अवसर पाइनन् ।
मनमायाका लागि त्यो विशेष दिन थियो । मनमायाको यो विशेष दिनलाई उनकी आत्मीय साथी, फुटबल सहकर्मी सावित्री किसनले थप यादगार बनाइदिइन् । सावित्रीले त्यस्तो केही ठूलो कुरा गरेकी होइनन् । मात्र आफ्नो ‘बेस्ट फ्रेन्ड’ लाई बधाई दिएकी हुन् । राष्ट्रिय टोलीमा आफ्नो पोजिसनमा खेल्ने तीन नियमित सिनियर खेलाडी भएकाले युवा गोलकिपर सावित्रीलाई आफू टोलीमा पर्ने आत्मविश्वास थिएन । उनलाई थाहा थियो, धेरै सिक्न बाँकी छ । तर, उनी मनमायाले स्थान बनाउनेमा भने ढुक्क थिइन् । त्यसैले सुरुमै मनमायाको नाम हेरिन् ।

अन्तिम सूचीमा मनमायाको नाम पाउने बित्तिकै सावित्रीले मनमायालाई आफ्नो कोठामा बोलाइन् । दुवैले एकअर्कालाई अंकमाल गर्दै खुसी साटे । मनमायाले फेरि आफ्नो मनलाई थाम्न सकिनन् । खुसीका आँसु फेरि झर्न थाले । सँगै सावित्री पनि रुन थालिन् ।
नेपालले घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा कीर्गिस्तान, लेबनान र म्यानमारसँग अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगिता खेल्दै थियो । लेफ्ट ब्याक मनमाया पहिलो पटक सिनियर टोलीको जर्सी लगाएर देशको प्रतिनिधित्व गर्ने प्रतीक्षामा थिइन् । तर, उनले डेब्यूको अवसर पाइनन् ।
उनले सुरुआती दुई खेल अर्थात् कीर्गिस्तान र लेबनानविरुद्ध मौका पाउने अपेक्षा गरिएको थियो । तर, यी खेलमा नेपाल गोल गर्न संघर्ष गरिरहेको थियो । यस्तोमा मुख्य प्रशिक्षक राजेन्द्र तामाङले रक्षापङ्क्तिमा नयाँ अनुहारलाई मौका दिने आँट गरेनन् । त्यो मनस्थितीमा झन बलियो म्यानमारविरुद्धका दुई खेलमा प्रयोग गर्ने कुरै भएन । उदीयमान रक्षक मनमायाले डेब्यूको अनुभव लिन कम्तिमा पनि अर्को अन्तर्राष्ट्रिय प्रतियोगिता कुर्नुपर्ने भयो ।
साफ च्याम्पियनसिपका लागि प्रशिक्षक तामाङले लिगकै प्रदर्शनलाई आधार मानेर ४० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका थिए । यी ४० खेलाडीभित्र मनामाया परिनन् । मनमायाको मन रोयो ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले ६ महिन लामो राष्ट्रिय लिग सकिएलगत्तै चार देश सम्मिलित अन्तर्राष्ट्रिय च्याम्पियनसिप आयोजना गरेको थियो । विभागीय टोली एपिएफ क्लबकी खेलाडी मनमायाले लिगको दोस्रो चरणमा तारिफयोग्य प्रदर्शन गरेकी थिइन् । असोजमा सम्पन्न पहिलो चरणमा उनले खासै मौका पाएकी थिइनन् । नियमित लेफ्ट ब्याक हिराकुमारी भुजेल पहिलो रोजाईमा खेल्थिन् । कूल ९ खेलमध्ये मनमायाले चार खेलमा मात्र मैदान प्रवेश गर्ने मौका पाइन् । जम्मा ४६ मिनेट मैदानमा बिताउन पाएकी मनमायाले आफ्नो खेल कौशल देखाउन पाइनन् ।

पहिलो चरण सकिएलगत्तै नेपालले कात्तिकमा साफ च्याम्पियनसिपको सातौं संस्करण आयोजना गर्यो । च्याम्पियनसिपका लागि प्रशिक्षक तामाङले लिगकै प्रदर्शनलाई आधार मानेर ४० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका थिए । यी ४० खेलाडीभित्र मनामाया परिनन् । मनमायाको मन रोयो ।
‘साफ च्याम्पियनसिप जस्तो ठूलो प्रतियोगिता लगातार तेस्रो पटक घरेलु मैदानमा हुँदै थियो । मलाई राष्ट्रिय टोलीमा पर्नु थियो । तर, ,लिगमा मैले प्रदर्शन गर्न सकिन,’ मनमाया मनभित्रको पीडा लुकाउँदिनन्, ‘घरेलु समर्थकको बाक्लो उपस्थितीबीच दिदीहरु खेलिरहेको देख्दा आफूलाई पनि त्यो ठाउँमा भइदिए हुन्थ्यो जस्तो लाग्थ्यो । पछि यही ठाउँमा खेल्नुपर्छ भनेर मनलाई शान्त पार्थेँ ।’
फाइनलमा नेपाल बंगलादेशसँग २-१ ले पराजित भयो । अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा नेपाली महिला फुटबल टोलीको यो १२औं हार थियो । गत बुधबार म्यानमारविरुद्ध नेपालले १३औं हार बेहोर्यो । यसपालि नतिजा थियो, २-० ।
मनमाया लिगकै प्रदर्शनका कारण राष्ट्रिय टोलीको ढोका खुलेको बताउँछिन्, ‘कोचले पनि मेरो मिहिनेत देख्नुभयो होला । मैले आफ्नो खेललाई पनि सुधारेँ ।’
साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले तुलनात्मक रुपमा कमजोर भुटानविरुद्ध दूर्भाग्यजनक गोलरहित बराबरी खेल्यो । सोही खेलमा दुई नेपाली खेलाडीः मिडफिल्डर दीपा शाही र मनमायाको पोजिसनमा खेल्ने हिराकुमारी (भुजेल) को एसीएलमा गहिरो चोट लागेको थियो । खेलको भोलिपल्ट नै दुवैको शल्यक्रिया सम्पन्न भएको थियो । जसका कारण उनीहरु ९ महिना मैदान बाहिर रहने भए ।

हिराकुमारीको अनुपस्थितिमा मनमायाले अब लिगको दोस्रो चरण अनि प्लेअफमा पहिलो रोजाईमै मौका पाउने भइन् । मनमायाले फाइनलसहित पूरा १० खेल खेलिन् । एपिएफ लगातार चौथो पटक लिग च्याम्पियन बन्यो । मनमायाले हिराकुमारीको कमी महसुस हुनै दिइनन् ।
‘जीवेश (पाण्डे) सरले मलाई आत्तिनु पर्दैन भनेर सम्झाउनुभएको थियो । तिमी खेल्ने क्षमता भएकै कारण एपिएफमा छौ भनेर भन्नुभयो,’ मनमाया पहिलो पटक सुरुआती रोजाईमा आफ्नो नाम पाउँदाको क्षण सुनाउँछिन्, ‘सबैले दबाब महसुस गर्नुपर्दैन, आफ्नो खेल खेल्नु भनेर सम्झाएका थिए ।’
मनमाया लिगकै प्रदर्शनका कारण राष्ट्रिय टोलीको ढोका खुलेको बताउँछिन्, ‘कोचले पनि मेरो मिहिनेत देख्नुभयो होला । मैले आफ्नो खेललाई पनि सुधारेँ ।’
फुटबल यात्राको सुरुआत
स्याङजाको गाउँदेखि राष्ट्रिय टोलीसम्म पुगेको मनमायाको फुटबल यात्रा कसरी सुरु भयो त ?
हुने बिरुवाको चिल्लो पात भनेझैँ मनमायाले राम्रो फुटबलर बन्ने छनक देखाइसकेकी थिइन् । त्यसैले बहिनी मनमायाका लागि जेठी दिदीले फुटबल खेल्न नै छाडिन् ।
मनमायाले सानैमा दिदीहरूको लहैलहैमा फुटबल खेल्न थालेकी थिइन् । मनमाया सानो छँदा दिदीहरु बाटोमा फुटबल खेल्थे । १० वर्षीय मनमायालाई पनि खेल्न रहर जाग्यो । बल हुँदैन्थ्यो । केटाहरुले खेल्दा फुटेका बल, हावा नभएका बलसँग खेल्नुपर्ने बाध्यता थियो ।

गाउँमा केटीहरूले फुटबल खेलेको देखेपछि प्रशिक्षक दिलीप थापाले सबैलाई जम्मा गरेर फुटबलको आधारभूत शिक्षा दिन थाले । ‘केटाहरूले मात्र किन फुटबल खेल्ने, केटीहरुले पनि फुटबल खेल्नुृपर्छ भनेर दिलीप गुरुले हामीलाई जम्मा गर्नुभयो, अनि प्रशिक्षण दिनुभयो । बिस्तारै बुटहरु पनि किनेर ल्याइदिनुभयो,’ मनमाया आफ्नो पहिलो गुरु थापाप्रति कृतज्ञ छिन् ।
मनमाया घरकी माइली छोरी हुन् । आर्थिक अवस्था कमजोर नै छ । सबै दिदीबहिनी फुटबलमा लागेपछि घरको काम कसले हेर्ने ? त्यसमाथि आमा बिरामी थिइन् । हुने बिरुवाको चिल्लो पात भनेझैँ मनमायाले राम्रो फुटबलर बन्ने छनक देखाइसकेकी थिइन् । त्यसैले बहिनी मनमायाका लागि जेठी दिदीले फुटबल खेल्न नै छाडिन् ।
समाजका विभिन्न आलोचना र टिकाटिप्पणीबीच थापाले प्रशिक्षणलाई निरन्तरता दिए । थापा सबै चेलीहरुलाई भन्थे, ‘सबैजना समयमै मैदान पुग्नु, लजाउनु हुन्न है ! लाज सबै घरमा छाडेर आउनु ।’
थापाको प्रशिक्षणमा मनमायाको स्कुल (बाल विद्या माध्यमिक विद्यालय)का साथीहरू धेरै थिए । मिडफिल्डर सरस्वती हमाल, सावित्री (किसन) सबैले थापाकै प्रशिक्षणमा फुटबल सुरु गरेका हुन् । अहिले सरस्वती पनि राष्ट्रिय टोलीका सदस्य भइसकेका छन् । मनमायासँगै सरस्वती पनि यसपालि अन्तर्राष्ट्रिय च्याम्पियनसिपको अन्तिम टोलीमा थिइन् । डेब्यू भने गरेकी छैनन् ।

सन् २०१७ मा दिलीपले यी खेलाडीलाई कोकाकोला कप खेलाउन काठमाडौं ल्याएका थिए । मनमायाले पहिलो पटक यति टाढाको यात्रा गरेकी थिइन् । एन्फा मुख्यालयमा सम्पन्न अन्तर विद्यालय प्रतियोगितामा बाल विद्याले फाइनलसम्मको यात्रा गर्यो । त्यतिबेला फाइनल खेलमा बाल विद्या रौतहटको श्री दुर्गा माध्यमिक विद्यालयसँग पराजित भएको थियो ।
मनमाया भर्खर २० वर्षकी भइन् । व्यावसायिक र अन्तर्राष्ट्रिय फुटबलमा उनको यो सुरुआत हो । यात्रा लामो छ । मिहिनेत र खेलको स्तर कायम राख्ने हो भने उनको अन्तर्राष्ट्रिय डेब्यू धेरै टाढा नहुन सक्छ ।
कोकाकोला कप सकिएपछि सबै घर फर्किए । बंगलादेशमा डिसेम्बर महिनामा साफ यु-१५ च्याम्पियनसिपको पहिलो संस्करण हुँदै थियो । एन्फाले प्रशिक्षक थापालाई खेलाडी छनोटका लागि काठमाडौं पठाउन भनेपछि मनमाया र उनका साथीहरू पुनः काठमाडौं आए । छनोटमा भिडे, अनि राष्ट्रिय टोलीमा पर्न सफल भए ।
बंगलादेशयता मनमायाले भुटानमा भएको साफ यु-१५ च्यामिपयनसिप २०१८, भुटानमै भएको साफ यु-१५ च्याम्पियनसिप २०१९ खेलिन् । त्यसपछि उनले घरेलु भूमिमा भएको एएफसी यु-१६ च्याम्पियनसिप छनोट २०१९, भारतमा भएको साफ यु-१८ च्याम्पियनसिप २०२२, बंगलादेशमा भएको साफ यु-२० च्याम्पियनसिप २०२३, प्यालेस्टाइन र म्यानमारमा सम्पन्न एएफसी यु-२० च्याम्पियनसिप छनोट २०२४ मा नेपालको प्रतिनिधित्व गरेकी छन् ।

एपिएफसँग अनुुबन्धन
स्थानीय क्लब ट्रिनिटी अनि वालिङ नगरपालिकाबाट खेल्दै आएकी मनमायाको एपिएफ क्लबमा यो पहिलो सिजन हो । यु-२० मा नेपालको प्रतिनिधित्व गरेर फर्किएपछि मनमायाले चितवनमा भएको महिला लिगमा वालिङ नगरपालिकाबाट खेलेकी थिइन् । त्यहाँ प्रदर्शन राम्रो भएपछि उनी एपिएफको नजरमा परेकी हुन् । अहिले उनी एपिएफमा करारमा छिन् ।
फुटबलका सुरुआती दिनमा मनमायालाई फुटबलमा कुन कुन पोजिसन हुन्छ भन्ने समेत थाहा थिएन । बिस्तारै बलमा कसरी खुट्टा राख्ने भन्ने सिकिन । सुरुमा स्ट्राइकर पाजिसनबाट खेलिन । अनि लेफ्ट विंगर । बीचमा मिडफिल्डर भएर पनि खेलेकी मनमाया उमेर समूहमा नेपालका लागि खेल्दासम्म प्रोपर लेफ्ट ब्याक भएर उदाइन ।
मनमाया भर्खर २० वर्षकी भइन् । व्यावसायिक र अन्तर्राष्ट्रिय फुटबलमा उनको यो सुरुआत हो । यात्रा लामो छ । मिहिनेत र खेलको स्तर कायम राख्ने हो भने उनको अन्तर्राष्ट्रिय डेब्यू धेरै टाढा नहुन सक्छ ।
उनका एपिएफका गुरु जीवेश कुमार पाण्डेले अन्तर्राष्ट्रिय च्याम्पियनसिपका दौरान भनेका थिए, ‘मनमाया राष्ट्रिय टोलीमा डेब्यु पाउन योग्य छिन् । लेबनानविरुद्ध मनमायालाई प्रयोग गर्दा अन्याय हुँदैन ।’