काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा प्लानिङ ब्वाइज युनाइटेडले च्यासल युवा क्लबमाथि ४–० को फराकिलो जित हासिल गरेको छ ।
जितसँगै दुई खेलमा स्पष्ट ६ अंक जोडेको प्लानिङ ब्वाइज अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यसअघि आफ्नो पहिलो खेलमा प्लानिङ ब्वाइजले झापा फुटबल क्लबलाई २-१ ले हराएको थियो ।
आफ्नो पहिलो खेलमा वीरगंज युनाइटेडविरुद्ध गोलरहित बराबरी खेलेको च्यासल लगातार दोस्रो खेलमा गोल गर्न असफल रह्यो । प्लानिङ ब्वाइजका लागि फागुराम थारुले दुई गोल गर्दा सुजन डंगोल र अविनाश थापाको नाममा एक गोल रहयो ।
सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा सम्पन्न खेलको पहिलो हाफ गोलरहितमा समाप्त भएको थियो । दोस्रो हाफको सुरुआती १० मिनेटभित्र सुजनले विपक्षी गोलकिपर रोशन नेपालले बललाई नियन्त्रण गर्न नसक्दा त्यसको फाइदा उठाएका थिए । ६०औं मिनेटमा फागुरामले प्रताप सिंह राईको कर्नर क्रसलाई सदुपयोग गरे । प्रतापको क्रसलाई कप्तान विशाल दर्जीले हेडमार्फत बललाई पोस्टको दिशा दिन खोजेका थिए । अन्त्यमा फागुरामले विशालको हेड पासमा हेडमार्फत नै गोल गरे ।
खेलको ७७औं मिनेटमा सुजनको सुन्दर थ्रु पासमा अविनाशले रोशनलाई बिट गर्दा टोलीले तीन गोलको अग्रता लियो । त्यसको ६ मिनेटपछि फागुरामले गोलकिपर युवराज पुरीको लामो दूरीको पासलाई सदुपयोग गरे । उनले युवराजको पासलाई नियन्त्रणमा लिए अनि विपक्षी गोलकिपर रोशनलाई बिट गरे ।
दिनको दोस्रो खेलमा श्री कुमारी क्लबले वीरगंज युनाइटेडको सामना गर्दैछ । खेल दिउँसो ४ बजे सुरु हुनेछ । दुबै पहिलो जितको लक्ष्यमा छन् । यसअघि श्री कुमारीले आफ्नो पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबविरुद्ध २–१ को पराजय बेहोरेको थियो ।