काठमाडौं । नेपाल इस्पोर्टस संघको आयोजनमा तेश्रो नेपाल इस्पोर्टस च्याम्पियनसिप २०२२ असार २३ देखि २५ गते सम्म आयोजना हुने भएको छ ।
पहिलो र दोश्रो संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको संघले तेश्रो संस्करण आयोजना गर्न लागेको बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराएको हो ।
छोटो समयमा नै विश्वका युवाहरु माझ लोकप्रिय खेल इस्पोर्टस् नेपालमा पनि पछिल्लो समय युवाहरु माझ निकै नै रुचाइएको खेलमा पर्दछ ।
थापाथलीस्थित एपी १ को स्टुडियोमा आयोजना हुने च्याम्पियनसिपमा डोटा २, सिएस गो, एमएलबिबी, टेकेन ७ र पब्जी गरी ५ विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएका छन् ।
आयोजक संघका अध्यक्ष सुरज डङ्गोलले च्याम्पियनसिपका प्रतियोगिताहरु संचालन भइसकेको र असार २३ गते देखि फाइनल खेलहरु आयोजा हुने समेत जानकारी गराए । जसमा डोटा २ मा ८ टिमका ४३ खेलाडीहरुले सहभागिता जनाएकोमा बेडोज र टेन्जीकु ग्याङ्ग, सिएस गोमा २ टिम लेजन र ख्याकका ११ खेलाडीहरु, एमएलबिबीमा १७ स्क्वाडका १ सय ५ खेलाडीहरुले सहभागिता जनाएकोमा पिङ्गपङ्ग र एभेन्जर्स, टेकेन ७ मा ३ खेलाडीहरु रहेकोमा ब्रोरोच र दुर्गेसिंह १७ र पब्जीमा ५७ स्क्वाडमा २ सय ८४ खेलाडीहरुविच प्रतिस्पर्धा भइरहेको र १६ स्क्वाडका बीच आसर १६ गते सम्म सेमिफाइनलका प्रतिस्पर्धा भइरहेको अध्यक्ष डङ्गोलले जानकारी दिए ।
च्याम्पियनसिप इन्डोनेसियाको बालीमा आयोजना हुने १४औं विश्व इस्पोर्टस् च्याम्पियनसिप २०२२ को छनोट प्रतियोगिता समेत रहेको छ । विजयी खेलाडी तथा टिमले दक्षिण एशियाली क्षेत्रीय च्याम्पियनसिपमा छनोट भएपश्चात विश्व च्याम्पियनसिपमा सहभागिता जनाउने आयोजकले जनाएका छन् ।
प्रतियोगिताको विजयी पाँच खेलाडीलाइ प्राइम कलेजले स्नात तहको छात्रवृती दिने आयोजकले जानकारी दिए ।