काठमाडौं । नेपाल कबड्डी लिग सिजन २ मा प्रतिस्पर्धा गर्ने ६ टिमका मालिक सार्वजनिक गरिएको छ । आयोजक एस्ट्रोनिक्स म्योनजेमन्टद्वारा होटल ‘याक एन्ड यति’मा शनिबार आयोजित कार्यक्रममार्फत फ्रेन्चाइज टिमका मालिक सार्वजनिक गरिएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाको नेसनल इन्भेष्टमेन्ट होल्डिङ प्रा.लि.ले विराटनगरको टिम लिएको छ । विराटनगर नयाँ स्वरुपमा उपस्थित हुँदैछ । टिमको नाम परिवर्तन गर्दै विराटनगर ब्यान्डिट्सबाट विराटनगर बाहुबली बनेको छ ।
पहिलो संस्करणको च्याम्पियन जनकपुर नाइट्सको स्वामित्व नेको इन्स्योरेन्स लिमिटेडमा यथावत् रहेको छ । उपविजेता काठमाडौं माभरिक्सको स्वामित्व काठमाडौं माभरिक्स प्रा.लि.मा पुगेको छ ।
त्यस्तै, फेवा कन्स्ट्रक्सन प्रा.लि.ले पोखरा लेकर्स र मोराई कर्पोरेसन प्रा.लि.ले बुटवल बुल्सको लिएको छ । बुटवल बुल्स पनि नयाँ नाम हो । यसअघि हिमालयन रेइडर्सको नाममा यो टोलीले प्रतिस्पर्धा गरेको थियो ।
धनगढी वाइल्डक्याट्स प्रा.लि.को स्वामित्व रहेको धनगढी वाइल्डक्याट्सले सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्नेछ ।

देशमा लोकिप्रय भइरहेको एनकेएलमा व्यापारिक तथा व्यावसायिक घराना आबद्ध गर्न पाएकोमा खुशी व्यक्त गर्दै एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकमार बेगानीले भने, ‘पहिलो संस्करण भव्य रुपमा आयोजना गरेका थियौं । दोस्रो संस्करणलाई थप उत्कृष्ट बनाउने छौं । कर्पोरेट हाउसहरूको आबद्धताले लिगलाई थप उचाई दिनेछ । हामी सबैले नेपाली कबड्डीलाई विश्वमै अब्बल बनाउने छौं ।’
कार्यक्रममा नेपालको लागि श्रीलंकाली राजदूत रुवन्थी डेलपिटिया, अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झालगायतको उपस्थिति रहेको थियो ।
नेपाली कबड्डीलाई व्यावसायिक रुप दिने प्रयासमा थालिएको एनकेएलको दोस्रो सिजन जेठ २२ गते (जुन ५ मा) सुरु हुने छ । सिजन २ को लागि प्लेयर्स ड्राफ्टको लागि लागि स्वदेशी खेलाडीको छनोट भइसकेको छ भने १५ देशका १ सय बढी खेलाडीले पनि नाम दर्ता गरेका छन् । एनकेएल २ को ब्रोडकास्ट पार्टनरको रुपमा कान्तिपुर म्याक्स टीभी एचडी छ ।
टिम, स्वामित्व र कम्पनीका मुख्य व्यक्ति
विराटनगर बाहुबली– नेसनल इन्भेष्टमेन्ट होल्डिङ प्रा.लि.– भवानी राणा
जनकपुर नाइट्स– नेको इन्स्योरेन्स लिमिटेड– गणेश लम्साल
काठमाडौं माभरिक्स– काठमाडौं माभरिक्स प्रा.लि.– साल्भिन कालशंकर
पोखरा लेकर्स– फेवा कन्स्ट्रक्सन प्रा.लि.– रामचन्द्र कोइराला
बुटवल बुल्स– मोराई कर्पोरेसन प्रा.लि.– नवीन साह
धनगढी वाइल्डक्याट्स– धनगढी वाइल्डक्याट्स प्रा.लि.– माधव अग्रवाल
