काठमाडौं । त्रिभुवन आर्मी क्लबबाट व्यवसायिक फुटबल खेलिरहेका मिडफिल्डर पेम्बा दोर्जे लामासहित पाँच नयाँ अनुहारलाई समेट्दै नेपाली राष्ट्रिय फुटबल टोली घोषणा भएको छ ।
आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले फेसबुकमार्फत एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत लाओसविरुद्ध खेल्ने २३ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो ।
गत नोभेम्बरमा समूह ‘एफ’मा रहेको नेपालले आफ्नो पाँचौं खेलमा मलेसियाको सामना गरेको थियो । मलेसिया भ्रमण गरेको त्यो टिमबाट ७ खेलाडीले अन्तिम टोलीमा स्थान बनाउन सकेनन् । चर्चित अनुहारहरु एरिक विष्ट, अञ्जन विष्ट र लाकेन लिम्बू यसपाली टोलीमा छैनन् ।

त्यस्तै दीप कार्की, दीनेश हेञ्जन, कुशल देउवा र सुवास वम पनि लाओस भ्रमण गर्ने टोलीमा छैनन् । यी खेलाडीहरुमध्ये सुवास उमेर समूहको अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेका छन् । माल्दिभ्समा चलिरहेको साफ यु-२० च्याम्पियनसिपमा सुवासले उप-कप्तानको जिम्मेवारी निर्वाह गरिरहेका छन् ।
नव नियुक्त मुख्य प्रशिक्षक गुग्लिएल्मो एरिनाले राष्ट्रिय लिगमा गरेको प्रदर्शनकै आधारमा चैत १ गते ४९ खेलाडीलाई प्रारम्भिक छनोटका लागि बोलाएका थिए । जसमध्ये स्ट्राइकरहरु - चर्च ब्वाइज युनइटेडका मिलन राई र नेपाल एपिएफ क्लबका युवराज खड्का, मिडफिल्डरहरु - प्लानिङ ब्वाइजका रोमन भुजेल र आर्मीका पेम्बा दोर्जे लामा अनि प्लानिङकै गोलकिपर योगेश धिमालले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।

पेम्बाले जनवरीमा सम्पन्न साफ फुटसल च्याम्पियनसिपमा पनि नेपालको जर्सी लगाएका थिए । भुटानविरुद्ध उनले दुई गोल पनि गरेका थिए । साफ च्याम्पियनसिपलगत्तै पेम्बा आर्मीमा आबद्ध भएका थिए ।
मिलन र युवराज दुबै गोल स्कोरिङ लयमा छन् । उच्च गोलकर्ताको दौडमा नेपाली खेलाडीतर्फ यी दुई शीर्ष स्थानमा छन् । दुबैले समान ६ गोल गरेका छन् । त्यस्तै गत जेठमा सम्पन्न ‘बी’ डिभिजन लिगमा प्लानिङकै जर्सी लगाएका रोमनले पनि प्रशंसनीय प्रदर्शन गर्दै आएका थिए । बी डिभिजनमा पहिलो रोजाईका लागि संघर्ष गर्नुपरेका रोमनले आफूलाई अहिले प्रमुख खेलाडीका रुपमा स्थापित गरेका छन् । उनका सहकर्मी योगेशको प्रदर्शन पनि सम्झनलायक रहँदै आएको छ ।
छनोट समीकरणबाट बाहिरिसकेको नेपालले मार्च ३१ गते लाओससँग खेल्दैछ । टोली हिजो त्यसतर्फ प्रस्थान गरेको थियो । लाओसविरुद्धको खेल नेपालमै हुनुपर्ने थियो । तर, भौतिक पूर्वाधारमा देखिएका सामान्य कमजोरी सुधार्न एन्फा उदासिन भएपछि दशरथ रंगशाला एएफसीबाट अयोग्य ठहर भएसँगै नेपाल लाओस भ्रमण गर्न बाध्य भएको हो ।
नेपाली टोली
अभिषेक लिम्बू, आदित्य शाक्य, अनन्त तामाङ, आयुष घलान, बिमल पाण्डे, विशाल सुनार, दीपेश गुरुङ, जिलेश्पिजंग कार्की, किरण कुमार लिम्बू, कृतिश रत्न छुन्जु, मणि कुमार लामा, मनिष डाँगी, मिलन राई, पेम्बा दोर्जे लामा, रोहन कार्की, रोहित चन्द, रोमन भुजेल, सनिष श्रेष्ठ, सुमन श्रेष्ठ, सुमित श्रेष्ठ, योगेश धिमाल, योगेश गुरुङ, युवराज खड्का
