श्रावण ३१, २०८२ शनिबार | ०९:१९:०८
ओलम्पिक अभियानका द्रोणाचार्यको भीष्म परीक्षा लिभरपुरलाई कस्ले रोक्ला ? आत्मकथा शृंखला–१२ 'मेरो सम्झनामा नर शमशेर कस्ता ?' एनपिएल मिनी अक्सनः ३७ खेलाडीलाई कुन टोलीले कति खर्चिए ? पब्जीले देखाएको इ- स्पोर्टसको सुनौलो भविष्य एनएसजेएफ पल्सर वर्ष युवा खेलाडीः युवालाई प्रोत्साहित गर्ने सशक्त विधा एन्फा महिला लिग छनोटः लम्कीविरुद्ध बुटवल विजयी अन्डर डिस्ट्यान्स एथलेटिक्स च्याम्पियनसिपः विभागीय टोलीको वर्चश्व एएफसी यु-२३ एसियन कप छनोटका लागि नेपाली टोली घोषणा नर्दर्न टेरिटोरीसँग नेपालको हार ओलम्पिक अभियानका द्रोणाचार्यको भीष्म परीक्षा लिभरपुरलाई कस्ले रोक्ला ? आत्मकथा शृंखला–१२ 'मेरो सम्झनामा नर शमशेर कस्ता ?' एनपिएल मिनी अक्सनः ३७ खेलाडीलाई कुन टोलीले कति खर्चिए ? पब्जीले देखाएको इ- स्पोर्टसको सुनौलो भविष्य एनएसजेएफ पल्सर वर्ष युवा खेलाडीः युवालाई प्रोत्साहित गर्ने सशक्त विधा एन्फा महिला लिग छनोटः लम्कीविरुद्ध बुटवल विजयी अन्डर डिस्ट्यान्स एथलेटिक्स च्याम्पियनसिपः विभागीय टोलीको वर्चश्व एएफसी यु-२३ एसियन कप छनोटका लागि नेपाली टोली घोषणा नर्दर्न टेरिटोरीसँग नेपालको हार
शनिबारको दिन शनिबारको दिन

पब्जीले देखाएको इ- स्पोर्टसको सुनौलो भविष्य

काठमाडौं । कुनै समय थियो, पब्जी समय बिताउन खेलिने एउटा सामान्य मोबाइल एप । स्कुल, कलेज र कार्यालयको समय सकिएपछि विद्यार्थी वा कामकाजी मानिसका लागि समय कटाउने एउटा रोमाञ्चक र सजिलो माध्यमका रूपमा पनि पब्जी स्थापित थियो । अझ काम नभएका बेरोजगारका लागि त यो जीवनशैली नै बन्दै थियो । यही कारण पब्जी समाजमा बदनाम पनि थियो । किशोर र युवामाझ बढी लोकप्रिय यही पब्जी समाजका पाकाहरूका लागि टाउको दुखाइको विषय थियो, नयाँ पुस्ता पब्जीको लतमा लागेर बिग्रने भयो, निकम्मा नै हुने भयो भनेर ।

प्रविधिले पाका पुस्ताको त्यो सोचलाई भित्रभित्रै गलत साबित गर्दै थियो । समय कटाउने बहानासँगै पब्जी प्रतिस्पर्धाको एउटा नवीन माध्यमका रूपमा विश्वभर लोकप्रिय बन्दै थियो । नयाँ व्यवसायका रूपमा स्थापित हुँदै थियो । कुनै बेला ‘इन्टरनेटको विकाससँगै भित्रिएको कुलत’का रूपमा परिचित पब्जी अब एउटा युवालाई बेग्लै खालको एक्सपोजर दिने र आकर्षक अर्थोपार्जन गर्ने रोजगारीका रूपमा स्थापित हुँदै थियो ।

प्रविधिको युग निकै गतिवान छ । विश्वको एउटा कुनामा आज विकास गरिएको प्रविधि निमेषभरमै संसारभर पुगिसकेको हुन्छ । नेपाल पनि प्रविधि अँगाल्ने मामिलामा अगाडि नै छ । यही कारण हो, कुलत भनेर दुत्कारिने पब्जीलाई प्रविधिको प्रयोग गर्दै रणनीतिक प्रयोगका लागि केही सिर्जनशील र बहादुर युवाहरूले यसभित्रका सम्भावना खोजी गर्न थाले ।

एक दशकभन्दा छोटो यात्रापछि आजको दिनमा आइपुग्दा उच्च प्राविधिक यो खेल विधामा पब्जी नेपालको छुट्टै खालको पहिचानका रूपमा स्थापित हुने क्रममा छ ।

नतिजा, नेपालमा पनि डिभाइस प्रयोग गरेर इ-स्पोर्टसका गतिविधिलाई व्यावसायिक रूप दिने प्रयासको सुरुआत भयो । इ-स्पोर्टसका अन्तर्राष्ट्रिय मञ्चहरूमा आफूसँगै देशको सम्मानजनक उपस्थितिको जग बसाल्ने काम त्यहींबाट थालियो । नेपालको हकमा पब्जी इ-स्पोर्टसमार्फत अन्तर्राष्ट्रियजगतमा देशको गौरवमय उपस्थिति जनाउने गतिलो माध्यम बन्न थाल्यो । एक दशकभन्दा छोटो यात्रापछि आजको दिनमा आइपुग्दा उच्च प्राविधिक यो खेल विधामा पब्जी नेपालको छुट्टै खालको पहिचानका रूपमा स्थापित हुने क्रममा छ ।

कसरी सम्भव भयो त यो परिवर्तन ?हो सुरुआती चरणमा यो सम्भव देखिँदैनथ्यो । तर हाइप, सोल्टी स्क्वाड, एलिमेन्ट्रिक्स, डेड आइज गाइज, नेपाली होनी, ज्यानमारा, टिडिपी, पिएनक्यू, एएसएल जस्ता टिमको साहसका कारण धेरै हदसम्म पब्जीलाई खेल विधाका रूपमा स्वीकार्ने अवस्थाको जग हाल्यो । हुन पनि अन्तर्राष्ट्रिय इ-स्पोर्टस स्पर्धामा नेपालका यी प्रतिनिधिहरू पुग्दा उनीहरूको प्रदर्शन उच्चस्तरको हुने गर्थ्यो । अवस्था यस्तो पनि आउन थाल्यो कि विश्वकै नाम चलेका टिमसमेत नेपाली प्रतिनिधिसँग खेल्नुपर्दा धेरै सोच्न थाले ।

द्रुत गतिको इन्टरनेट नहुँदा पनि नेपाली टिमहरूको प्रदर्शन दक्षिण एसियामा सनसनीपूर्ण रहन थाल्यो । हाइप गोर्खाले सन् २०१९ को पब्जी मोबाइल क्लब ओपन (पिएमसिओ) प्रतियोगिताको छनोट चरणमा स्यानहोक म्यापमा एकक्षत्र राज गर्नुका साथै त्यो बेलाको पब्जी खेलमा महारथी मानिने फिनाटिकविरुद्ध डेड आइज गाइजले मिरामार म्यापमा गरेको उत्कृष्ट पुनरागमनले नेपाली टिमहरूलाई अन्तर्राष्ट्रिय जगतमा पहिचान दिँदै थियो ।

झन्डै डेढ महिनासम्म लाइभ हुने क्रममा नेपाली टिमका प्रत्येक गतिविधि स्ट्रिमरबीच पनि बहसको विषय बनेको थियो । जहाँ स्ट्रिमरहरूले त्यसलाई नेपालीको स्वभाव अनुसार आत्मसम्मानको लडाइँको रूपमा व्याख्या गरेका थिए । दुई वर्षपछि सन् २०२१ मा बंगलादेशी टोली, एक्सबी ब्लडविरुद्ध डेड आइज गाइजले लिएको बदलालाई पनि नेपाली इ-स्पोर्टसमा समरणीय क्षणको रूपमा लिने गरिन्छ ।

नेपाली अर्गको प्रदर्शनबाट प्रेरित भएर विश्वकै ठूला र धनाढ्य देशका अर्गहरूले नेपालका थुप्रै पब्जी टिम किन्न आँखा लगाएका थिए ।

डेड आयज गाइजले चार वर्षअघि आर्जेको त्यो प्रतिष्ठाको विरासत अचेल होर इ-स्पोर्टसले धानिरहेको अवस्था छ । हाइप, सोल्टी स्क्वाड, नेपाली होनी जस्ता टिमले जग बसाल्दै गर्दा एलिमेन्ट्रिक्सले व्यावसायिकताको पक्षमा योगदान गरिरह्यो । यसैगरी ज्यानमाराले कोरा प्रतिभाहरूको उत्पादनमा योगदान गरिरह्यो भने डेड आइज गाइजले इ-स्पोर्टसका अर्ग (अर्गनाइजेसन)हरूलाई ब्रान्डिङ गर्ने काम गर्यो ।

हाई भोल्टेज र टिटुके, भाइब, विजेज, डिआरएस जस्ता टोलीको आगमनसँगै लवी प्रतिस्पर्धात्मक मात्र बनेन पूर्ण रुपमा व्यावसायिक बन्दै गयो । अहिले पनि नेपाली खेलकुदमा परम्परागत खेलकुदमा वर्षैभर तलब पाएर खेल्ने खेलाडी भनेको विभागीय टिममा मात्र पाइन्छ । इ-स्पोर्टसमा भने पब्जी अर्गहरूले खेलाडीहरूसँग पूरै १२ महिनाकै सम्झौता गरेर गतिविधि अगाडि बढाइरहेका छन् । यहाँसम्म कि नेपाली अर्गको प्रदर्शनबाट प्रेरित भएर विश्वकै ठूला र धनाढ्य देशका अर्गहरूले नेपालका थुप्रै पब्जी टिम किन्न आँखा लगाएका थिए । सन् २०२०-०२१ मा डिआरएसको टिम त एक समय स्काइ लाइट गेमिङले नै खरिद गरेको थियो ।

डिआरएस गेमिङले सन् २०२२ को पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (पिएमजिसी)मा प्राप्त गरेको सफलता नेपाली इ-स्पोर्टसले गर्व गर्ने उपलब्धि हो । क्षेत्रीय प्रतियोगितामा वर्चस्व राख्दै आएको अवस्थामा त्यति बेला डिआरएस गेमिङले पिएमजिसीमा उपविजेतासम्मको सफलता प्राप्त गरेको थियो । पिएमसिओको सहभागितालाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको जग मान्ने हो भने अहिले नेपाल पब्जी मोबाइल विश्वकपसम्म पुगेर छानो हाल्नमा सफल भएको मान्न सकिन्छ । नेपाली टोलीले नाम चलेका अर्गलाई चुनौती दिने मात्र नभई धुलो चटाउने गरी बनाएको सामथ्र्य त्यसको प्रमाण हो ।

 सबै नेपाली अर्गहरूले विदेशी खेलाडीको शैली अध्ययन गर्न एनालिस्टदेखि प्रशिक्षकसम्म नियुक्त गरेका छन् । 

प्रतियोगितामा सहभागी भएवापत पाउने सानो रकमले धान्ने टोली अहिले यति व्यावसायिक बनेका छन् कि इन्टरनेट सेवा प्रदायक कम्पनीदेखि इनर्जी ड्रिङ्क र व्यावसायिक प्रतिष्ठानको समेत आकर्षण बन्न थालिसकेका छन् । लिक्विपेडियाअनुसार प्रतियोगिता सहभागिता जनाएवापतको आम्दानीलाई मात्र आधार मान्दा सन् २०२५ को सिजन चलिरहँदा अहिलेसम्मको अवस्थामा मात्रै होर इ-स्पोर्टसका सबै पाँच खेलाडीको औसत व्यक्तिगत आम्दानी २७ हजार अमेरिकी डलर देखिन्छ । विश्वकै सर्वाधिक कमाउने पब्जी खेलाडीको सूचीमा शीर्ष सयभित्र पर्छन् ।

प्रतिस्पर्धाको वर्तमान अवस्था मूल्यांकन गर्दा होर र डिआरएससँगै टिटुके, एएसएल, एएसटी, एसकेडी, नेपेक्स, एचएलएक्स, बाग र आरएसजस्ता नेपाली टिमहरूको पनि प्रदर्शन र नतिजा उत्साहजनक हुने अपेक्षा गर्न सकिन्छ ।

पुराना खेलाडीको अनुभव र नयाँ प्रतिभाको जुझारुपनले जारी क्षेत्रीय प्रतियोगिता (पिएमएनसी साउथ एसिया) निकै दर्शनीय बनेको छ । यहाँ कुनै पनि टीम सिकारु देखिएका छैनन् । सबै नेपाली अर्गहरूले विदेशी खेलाडीको शैली अध्ययन गर्न एनालिस्टदेखि प्रशिक्षकसम्म नियुक्त गरेका छन् । खेलाडीका लागि बुटक्याम्प (खेलाडी बस्ने र खेल्ने घर) व्यवस्था त अहिले सामान्य आवश्यकतामा पर्छन् । यसैगरी प्रतियोगिताअनुसार मोबाइल फोन पनि फरक किन्नुपर्छ ।

सन् २०१९ र २०२० मा हाइप गोर्खा, एसके फोर नाइन, प्रोटोटाइप, हाइजु, अन्टप, सिफू, माफियानिन्जा, एजे, निमा, एजभी मल्लिक, रुल्ज, चरी, लिओन, जोक्कर, टुरुलव जस्ता खेलाडी जसले पब्जीको विश्व प्रतिस्पर्धामा नेपालको झण्डा बोक्ने नामहरू थिए । वर्तमानमा भने किलर ग्यान्टे, डेल्टा, स्काई, नोफियर, स्लिपी जस्ता खेलाडीहरूले चन्द्रसूर्यको झण्डालाई विश्वमञ्चमा सानका साथ बोकेर हिँडिरहेका छन् ।

हाम्रो देशमा अस्तित्व नै नभएको खेलकाे संघ पनि राष्ट्रिय खेलकुद परिषदमा दर्ता छ । तर खेलेरै विश्वमा दबदबा मच्चाएको पब्जी अर्गको आफ्नै संगठन छैन । 

पिएमएनसीमा अहिले शीर्ष दुईमा रहँदै पब्जी मोबाइल सुपर लिग प्रवेश गर्न नेपाली टोली खेलिरहेका छन् । यहीँ खेल्ने टोली पनि प्रतियोगिता चक्र सम्पन्न हुँदासम्म कायम नरहन सक्छन् । विश्व मञ्चमा यो खेल थप परिस्कृत भएर अगाडि बढ्न सक्छ । तर नेपाली टिम त्यहीअनुसार अगाडि बढ्लान भन्ने विश्वास भने गर्न सकिन्न । व्यावसायिक रूपमा सफल हुने केही टिम केही समय रहन सक्लान् । त्यो नेपाली इ-स्पोर्टसका लागि पर्याप्त होइन ।

इ-स्पोर्टस समाजमा स्वीकार्यतासँगै स्थापित हुने क्रम सुरु भइरहँदा यहाँ टिमलाई पनि टिकाइराख्ने नीति बनाउनुपर्छ । अन्यथा इतिहासकै उपलब्धिमा गर्व गर्ने दिन आउनेछ । केही वर्षअघिको उपलब्धिले आज डिआरएस छ । अहिलेको उपलब्धिले केही समय होर पनि रहला । तर त्यसपछि के ? टेनसेन्ट र क्रयाफ्टनको प्रतियोगिता मात्र पर्याप्त होला र ? नेपालको आफ्नै लिगको अवधारणा बनाउन सकिन्न र ? गर्न धेरै बाँकी छ तर अहिले हामी केही सीमित उपलब्धिमा रमाइरहेका छौं । जुन दीर्घकालीन नरहन सक्छ । पुराना खेलाडी, पब्जीकै भाषामा ओल्ड गन (ओजी)हरूबाट भएको योगदानमा वर्तमान अर्ग अनर एक भएर दीर्घकालीन मार्ग बनाउन जरुरी छ ।

हाम्रो देशमा अस्तित्व नै नभएको खेलकाे संघ पनि राष्ट्रिय खेलकुद परिषदमा दर्ता छ । तर खेलेरै विश्वमा दबदबा मच्चाएको पब्जी अर्गको आफ्नै संगठन छैन । जुन अत्यावश्यक छ । धेरै नेपाली पब्जी टोली अहिले सय मिटर रेस सम्झेर दौरिरहेका छन् । जबकि यो रिले रेस हो । टोलीले ग्लोबल जर्नी निरन्तर गर्नुपर्छ । होरले विश्वकपमा खेलिरहँदा देशका कुनाकन्दरामा बजेट फोन बोक्ने युवालाई ‘म पनि खेल्छु एकदिन’ भन्ने लाग्थ्यो होला । त्यस्ता युवाको सोचलाई पनि आकार दिन जरुरी छ ।

सरकार के भन्छ त्यसमा घोत्लिन जरुरी छैन । सरोकार फेरि पनि पिएमजिसी र पब्जी विश्वकपमा नेपाली टिम हुनुपर्छ । पछिल्लो दशकलाई नियाल्ने र त्यसले देखाएको बाटोमा हिँड्ने हो भने यो पनि अन्य खेलजस्तै खेलाडीलाई करियर दिने एउटा सामान्य खेल बन्न सक्छ । सानो देशको सानो औंलाले इ-स्पोर्टसमा लगानी गर्ने ठूलो देशलाई हराउन सक्छ । चाहिएको भनेकै दृढ इच्छासहित लवीमा प्रवेश गरेर पहिलो खेल खेल्न जरुरी छ । त्यसपछि निरन्तरता अर्को आवश्यकता ।