काठमाडौं । इन्टरनेसनल इ-स्पोर्टस फेडेरेसन (आइइएसएफ) ले वर्ल्ड इ-स्पोर्टस समिटको अवसरमा दक्षिण कोरियाको बुसानमा हालै आयोजना गरेको वर्ल्ड इ-स्पोर्टस रेफ्री एकेडेमी २०२३ मा नेपालका तीन प्रतिनिधिले सफलता हासिल गर्दै रेफ्री लाइसेन्स हात पारेका छन् ।
आइइएसएफले भौतिक उपस्थितिमा पहिलोपल्ट आयोजित कार्यक्रममार्फत रेफ्री लाइसेन्समा दुई दिने कक्षापछि भएको परीक्षा उत्रिर्ण गर्दै नुवाकोटका क्षितिज श्रेष्ठ, अरुण मिश्र र सौजन्य श्रेष्ठले रेफ्री लाइसेन्स हात पारेका हुन् ।
नेपालीले पहिलोपटक आइइएसएफको रेफ्री कोर्स उत्तीर्ण गरेका हुन् । अब उनीहरूले आइइएसएफ रेफ्री टायर-२ को हैसियतमा इ-स्पोर्टसका प्रतियोगिता सञ्चालन गर्न पाउने छन् ।
उनीहरू नेपाल इ-स्पोर्टस एसोसिएसन (नेसा) को सिफारिसमा वर्ल्ड इ-स्पोर्टस रेफ्री एकेडेमीमा सहभागी भएका थिए ।
अमेरिकाका जेम्स उड र पिटर स्टेन्सनी, कोरियाका ली सुङ वन तथा अर्जेन्टिनाका निकोलस क्रेस्पोले प्रशिक्षण दिएको वर्ल्ड इ-स्पोर्टस रेफ्री एकेडेमीमा सात देशका २४ जना सहभागी भएका थिए ।
मोटर स्पोर्टसका मार्सलसमेत रहेका क्षितिज बुद्धिचाल (चेस) का आर्बिटर (निर्णायक) पनि हुन् । अरुण र सौजन्यले १९ औं एसियाली खेलकुद२०२३ मा ड्रिम थ्री किङडम-२ बाट नेपालको प्रतिनिधित्व गरेका थिए ।