काठमाडौं । उप–कप्तान पूजा महतोको अर्धशतकप्रेरित नेपालले आइसिसी ट्वान्टी–२० ग्लोबल छनोटमा पहिलो जित हासिल गरेको छ ।
शनिबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा नेपालले यसअघि नै सुपर सिक्स समीकरणबाट बाहिरिसकेको जिम्बाब्वेविरुद्ध ६ विकेटको जित हासिल गर्यो । नेपालको जितमा पूजाले ५० बलमा चार चौका र दुई छक्कासहित ५२ रनको अविजित पारी खेले ।
जिम्बाब्वेले दिएको १३० रनको सामान्य लक्ष्य नेपालले १९.३ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो । पूजाबाहेक कप्तान इन्दु वर्माले २२? विन्दु रावलले १५ र सीता रानामगरले ११ रनको योगदान गरे ।

जिम्बाब्वेका लागि जोसेफाइन एनकोमोले दुई तथा नोमभेलो सिबान्दा र क्रिस्टाबेल चातोन्ज्वाले समान एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बाव्वेले २० ओभरको समाप्तिमा ६ विकेट गुमाउँदै १२९ रनको योगफल खडा गरेको थियो ।
चौथो नम्बरका ब्याटर केली एन्डलोभुको अविजित ५२ रनको पारीप्रेरित जिम्बाव्वे कम्तिमा पनि सामान्य योगफल तयार पार्न सफल भएको थियो । यसबाहेक ओपनर विलोभ्ड बिजाले ३४ र मोडेस्टर मुपाचिक्वाले १४ रनको योगदान गरे ।
नेपालका लागि रिया शर्माले चार ओभरमा २५ रन खर्चिँदै दुई विकेट लिए । त्यस्तै कविता कुंवर, पूजा महतो, सीता रानामगर र रुवीना क्षेत्रीको नाममा समान एक विकेट रह्यो ।

शनिबार दिनको पहिलो खेलमा स्कटल्यान्डले थाइल्यान्डमाथि पाँच विकेटको विजयी हासिल गरेसँगै जिम्बाव्वेको दोस्रो चरण पुग्ने चुनौती सकिएको थियो । नेपालविरुद्ध जिम्बाब्वे सान्त्वना जितको खोजीमा थियो । जसमा जिम्बाब्वे सफल हुन सकेन ।
जिम्बाब्वेसँग पराजित भए नेपाल पनि पहिलो चरणबाटै बाहिरिने खतरा थियो । । समूह ‘बी’को अन्तिम खेलमा नेपालले स्कटल्यान्डसँग खेल्नेछ । स्कटल्यान्डविरुद्ध नेपाल ‘गर या मर’को स्थितिमा हुनेछ । नेपाललाई स्कटल्यान्डविरुद्ध ठूलो अन्तरको जित आवश्यक छ ।
